गृहमन्त्रीका छोरा निर्मलाका बलात्कारी होईनन् भने डीएनए टेष्ट गरी पुष्टी गर्न तरुण दलको माग
काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दलले निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाएरै छाड्ने दोहोर्याएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार वाईडबडी, टेलिकम फोरजी लगायतका काण्डै काण्डमा फसेको भन्दै ०३६ सालमा नमिता काण्ड भएको बेला तरुण दल नभएकाले नै दरबारियाले उनीहरुको बलात्कार र हत्या गरेपनि उनीहरुलाई कारबाही हुन नसकको जिकिर गरे । उनले अहिले तरुण दल सकृय भएकोले निर्मलाका बलात्कारी र हत्यारा जसरीपनि पत्ता लगाएरै छाड्ने जिकिर गरेका छन् ।
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउने पार्टी केन्द्रीय कार्यालयको कार्यक्रममा बोल्दै तरुण दलमा अनुशासनहीन कार्य गर्नेलाई दलले कारबाही गर्ने नीति लिए अनुसार नै कारबाही गर्दै जाने जानकारी दिएका छन् । अध्यक्ष बस्नेतले गृहमन्त्री रामबहादुर थापाका छोरामाथी तरुण दलले निर्मला पन्तको बलात्कार र हत्याको लगाईएको आरोपमा तरुण दल अहिलेसम्म पनि दृढ रहेको भन्दै उक्त आरोप सत्य नभएको पुष्टी गर्न सरकार र गृहमन्त्रीलाई उनको डीएनए टेष्ट गर्न चुनौत समेत दिए ।तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति बिजय कुमार गच्छदार, सहमहामन्त्री डा प्रकाश सरण महत, नेता बालकृष्ण खाँण, धनराज गुरुगं, शंकर भण्डारी लगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले दलले पार्टीलाई अप्ठ्यारो परेका बेला जतिबेलापनि तरुण दल काँध थाप्न तयार रहेको बताए ।
विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो । यद्यपि विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताए ।विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेपछि त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष छन् ।
तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।भब्य रुपमा उपस्थिति रहेको आजको चियापान कार्यक्रम संचालन उपाध्यक्ष चापागाईले गरेका थिए भने स्वागत भाषण कोशाध्यक्ष विद्वान गुरुगंले गरेका थिए ।