साधनाले सिकाएको शैक्षिक साधनाको यात्रा, उमेरले रोकेन अध्ययन

१८ भाद्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
17 Shares


सञ्जु पौडेल\
उमेरले ३५ पुगेकी मोतीमाया बि.क प्लस टु को अध्ययन सकाएर अनमीको कोर्स गरिरहेकी छिन् । अनमी हुँदै स्टाफ नर्स सम्मको सपना बोकेकी उनको यात्रा सजिलै यहाँ पुगेको भने हैन । स्कुलको पढाई बिचमै छाडेकी उनलाई बिहे पछि पढ्ने जाँगर चल्यो । केटाकेटी मै बिद्यालय छाडेकी उनी कहाँ पढ्न जाने ? उनले भनिन् ‘बुझ्दै जाँदा आफु जस्तैलाई पढ्न मिल्ने साधना महिला बिद्यालयको बारेमा थाहा पाएँ’ । ‘पढुँँ त ?’ बिदेश आउ जाउ गर्ने श्रीमान्ले स्विकृति दिए ‘एसएलसी सम्म पढ ।’ घरको स्विकृति र सहयोगले पढाइएको लागि निस्किएको यात्रा एसएलसीमै मात्र सिमित भएन । बि.स २०७२ सालमा एसईई दिएकी उनले साधना महिला बिद्यालयको इतिहासमै सबै भन्दा राम्रो नतिजा सबैभन्दा बढी ७८.२५ प्रतिशत ल्याएर उत्तीर्ण गरिन् । त्यस पछि उनको उच्च शिक्षाको सपना जाग्ने त स्वाभाविकै थियो, श्रीमानले पनि थप अध्ययनको लागि साथ दिए । उनले छात्रवृत्तिमा नाम निकालेर सिद्धार्थ गौतम बुद्ध कलेजमा प्लस टु पढिन् , लगनशील र मेहनती उनी नियमित कलेज जान पाइनन् तर पनि पास गरिन् ,सँगसंँगै उनका अनुसार एक लाख असी हजार लाग्ने अनमी अध्ययनका लागि पनि छात्रवृत्तिमा नाम निकालेकी उनको अहिले अभ्यासात्मक कक्षा चलिरहेको छ । आज सम्मको सिकाइले उनमा सबै भन्दा ठुलो इच्छा शक्ति हो भन्ने लाग्छ उनी भन्छिन् ‘मनबाट चाहेसी गर्न सकिन्छ ,पढेर राम्रो भयो भने जागिर खान्छु, यो फिल्डमै भएन भने स्टाफ र्नस पढ्ने सोंच छ र पढ्छु पनि ।’
मोतीमायासँगै एसइइ पास गरेकी झनुमाया राना कक्षा ३ देखी साधनामा पढेकी हुन् । कक्षा ४ र ६ मा द्धितीय स्थान पनि हांसिल गरेकी अनुभव बटुलेकी उनको पढाईमा नियमितता भने भएन । उनी भन्छिन् ‘श्रीमान् ब्रिटीस लाहुरे , विदेश जाने आउने गर्दा बीचमा पढाई छुट्यो पनि तर आएर हैन एसईई गर्छु भनेर पढें ।’ टुटेको त्यो निरन्तरता जोडेर झनुमायाले ५७ बर्षमा एसइइ पास गरिन् । पढेर ठुलै केही गरौंला भन्ने झनुमायालाई छैन । भन्छिन् ‘ त्यही हो अब पढेर जागिर गरम्ला भन्ने त छैन तर सन्ततीका लागि पनि सम्झनायोग्य होला भन्ने लाग्छ’ उनी थप्छिन् ‘ ए हाम्रो अग्रजले त त्यती उमेर पुग्दा पनि पढ्नुभाथ्यो भन्ने सम्झना रहला जसले उनीहरुलाई पढ्ने प्रेरणा देला ।’ एसइइ पास गर्दा घरमा भोज गरेर रमाइलो गरेको सम्झने उनलाई संझदा पनि मनै देखी आनन्द लाग्छ, भन्छिन् ‘एसइई पास गरें मान्छेले सोध्दा पनि अँ पढियो पास भईयो भन्न पाउँदा खुसी लाग्छ’ ।
कतै रहर कतै आवश्यकताले प्रौढ अवस्थामा बिद्यालय शिक्षामा जोडिएकाहरुका आ आफ्नै कथा छन् । ‘ बैंकमा गयो फर्म भर्न नआउने अनि त्यहाँ सहयोग माग्यो वहाँहरु कि त व्यस्त कि त आफै भर्नुस् भनेर तर्कने’ २ बर्ष अगाडि भर्णा भएर अहिले कक्षा ५ मा पढ्दै गरेकी धनमाया दजी भन्छिन् ‘अब आउंदैन भन्न पनि कति पिडा हुने अरुका अगाडि त्यही फर्म भर्नका लागि पनि मैले पढेकी हुँ ’। आजभोली त उनी बैंकको फर्म सजिलै भर्छिन्, त्यति मात्रै हैन श्रीमान धेरै संस्थाहरुमा आबद्ध भएकाले र कोषाध्यक्ष को जिम्मा सम्हालेका संस्थाहरुमा हिसाब किताब गर्न र मिलाएर राख्न सहयोग गर्ने समेत भएकी छिन् । एक छोरा र एक छोरी की आमा धनमाया घरमा सबै काम आफै गर्नुपर्छ तर व्यवस्थापन गरेर पढ्न भने श्रीमान् र छोराछोरीको सहयोग छ । ‘स्वास्थ्यले बेला बेलामा अलि समस्या दिन्छ , नत्र प्राय ः स्कुल छुटाउँदैन’ धनमाया हाँस्दै भन्छिन् ‘ दश कक्षा सम्म मात्रै पास गर्न पाए पनि पढेको छु भन्न हुन्थ्यो’ । बिद्यालयका अनुसार हाजिरीमा पनि निरन्तर र अतिरिक्त क्रियाकलापमा पनि धनमाया अब्बल छिन् ।
साधनामै कक्षा ४ मा अध्ययन गर्दै रहेकी रिता बि.क पढ्ने रहर हुँदा हुँदैपनि सानै बिभिन्न कारणले पढ्न नपाए पछि पढाई छाडिन् , अहिले आफु जस्तै इच्छा मारेर बसेकाहरुले अध्ययन गर्ने बिद्यालय पाए पछि फुरुङ्ग छिन् । जिविकाको लागि बिहान , साँझ अरुको घरमा काम गर्ने रिताले दिउसोमा बिद्यालय पुगेर ज्ञान हांसिल गरिरहेकी छिन् । ‘श्रीमानले पढ्ने ईच्छालाई विरोध गर्नुभएन’ परिवारको साथ पाएकी रिता भन्छिन् ‘त्यसैले बाबुनानीको गृहकार्य सघाउन होस् वा उनीहरुकै अगाडि बसेर यसो जानेझैं गर्न पढाईको महत्व बुझेरै पढ्ने कोशिस गरिराछु ।’ सानोमा पढाई छाडेर पछुताएकी उनलाई अब पढाई सकेसम्म नबिगारम् भन्ने हुन्छ तर सोंचे जस्तो त के हुन्थ्यो उनी भन्छिन् ‘के गर्ने कामले कहीलेकांही अलि ढिलो हुने अनि हतारमा त्यती पढाईमा ध्यान दिन नसकिने पनि हुन्छ । ’ पहिला नआउने घरायसी र व्यवहारिक कुराको ज्ञान उनलाई बिद्यालय पुगे पछि भएको छ । घरमा पढाइलाई समय दिन गाह्रो परेको बताउने उनलाई अंग्रेजी र गणित बिषय अलि ग्राहो लाग्छ, भन्छिन्‘सरासर पास त भईराछु अब एसईई सम्म पास गर्न पाए ईच्छा पुरा हुन्थ्यो ।’
पढ्न र सिक्नको लागि उमेर बाधक बन्न सक्दैन । ‘कतिपयले मर्ने बेला हरियो काँक्रो भन्छन् ’ साधनाकी अर्की महिला बिद्यार्थी रुपा पुन भन्छिन् ‘तर जसले जे भने पनि फाल्तु समयमा घर बसेर खेर फाल्नु भन्दा ज्ञान हासिल गर्न पाउँदा खुसी छु’ । उनलाई आफन्त घरपरिवारमै पनि पढेको छु भन्दा गर्व लाग्छ । जमानासंगै चल्न पढाईको महत्व बुझेको बताउने उनलाई कुनै समय मोबाईलमा नम्बर टिप्न , भन्न नआउने समस्याले पिडा दिएको याद छ ।
प्रौढ अवस्थामा शिक्षा ग्रहण गर्न सजिलो त हैन, घर व्यवहार, स्मरण शक्ति, सामाजिक दृष्टिकोण सबै कुराले प्रभाव पारिरहेको हुन्छ तर त्यस्ता अबरोधहरुलाई चिर्ने सामथ्र्य बोक्नेहरुलाई त्यसले रोक्दैन । स्नातक तेस्रो बर्षमा अध्ययनरत ४४ बर्षिय सिता खनाल साधनाबाट २०६९ मा एसएलसी पास गर्ने बिद्यार्थी हुन् । बिभिन्न सामाजिक काममा सामाजिक कार्यकर्ता भएर अघि सरेकी उनलाई कतिपय स्थानमा पढाईको कमीले हानी भएको महसुस भयो त्यो समस्या समाधान गर्न नै उनले पढ्ने संकल्प गरिन् र पढिरहेकी छन् । छोराछोरीको उमेरका साथीहरुसँग कक्षामा पढ्दा शुरुमा अफ्ठ्यारो पनि लाग्यो तर ईच्छा र आत्म बिश्वासमा अगाडि ती सबै फिक्का बने । अहिले उनी शिक्षक बनेर ज्ञानको ज्योति बाढ्ने संकल्प लिएर अगाडि बढिरहेकी छिन् । उनले एसएलसीमा ५९ प्रतिशत ल्याएकी थिईन् । ब्याचलर सकाएर मास्र्टस गर्ने पनि चाहना छ बोकेकी उनलाई जागिर खाने पनि चाहना छ , उनी भन्छिन् ‘ समयको खेल गर्दै जाने हो के हुन्छ , हिंड्दा, बोल्दा सा्है जानिन्थेन पढेपछि अड्कलका कुरा सम्बन्धित ठाउंमा आवाज उठाउने कुरा एकदम आत्मविश्वास बढेको छ ।’ पढाईको लागि परिवारको साथ छ, बाँकी उनकै प्रयत्नको कुरा रह्यो । पढाई अगाडि बढाउन कत्तिको सहज छ त ? उनी भन्छिन् ‘त्यही हो पहिला पहिला एकपटक पढेर आउंथ्यो अहिले १० पटक एउटै घोकिन्छ , तर मेहनत गर्ने हो , पढ्न दु ः ख छ ,मानसिक हिसाबले झट्ट सम्झिन गाह्रो हुन्छ ’ ।

पाकाहरुको साथी बनेको साधना
स्थानीय महिला अगुवाहरुको पहलमा २०६३ सालमा स्थापना भई संचालित साधना महिला माध्यमिक विद्यालय बुटवलमा अवस्थित छ । उक्त विद्यालयमा पढ्न रहर भएर पनि पहिले पढ्न नपाएका तथा दिनभरि काम गरेर पढाईको धोको पुरा गर्न चाहने महिला दिदीबहिनीहरु अध्ययनरत छन् । प्रधानाध्यापक विष्णु गौतम स्थापना देखि आजसम्म आईपुग्दाको यात्रा संघर्षमय रहेको बताउँछन् ,उनी भन्छन् ‘महिलाहरुले कसरी विद्यालय चलाउलान् र भन्नेहरुका लागि उदाहरण बनेका छौं ।’ पहिले भाडामा रहेको विद्यालयले २०७२ सालबाट आफ्नै भवनमा विद्यार्थीहरु पढाईरहेको छ । हाल विद्यालयमा दुई सय जना विद्यार्थी अध्ययनरत छन् । बिद्यालयले केही विद्यार्थीलाई निःशुल्क अध्ययनको समेत व्यवस्था गरेको छ । प्रदेश नं ५ को नमुना बिद्यालय बन्ने संकल्प बोकेको साधनाले अहिले घरदैलो अभियान संचालन गरेरै भए पनि बिद्यार्थी ल्याउने गरेको छ ।
बि.स २०६७ बाट एसएलसी दिन शुरु भएको साधनामा हाल सम्म ५५ जनाले एसएलसी÷एसईई उत्र्तिण गरेका छन् ,एक वर्षमा ४ जना ५ जनाले दिंदा यती कम संख्या देखिएको गौतमको भनाई छ । उनका अनुसार पास भएका मध्ये कतिपयले ब्याचलर लेभल सकाएका छन् भने कसैले ईन्जिनियरिङ , ल्याब लगायतका प्राबिधिक अध्ययन गर्दैछन् त कसैले जागिर समेत गरिरहेकाछन् । विद्यालयमा आउन चाहने पढ्न चाहने भएर पनि परिवार र समाजका डरले नआएको, कत्तिले ड्रेस समेत बिद्यालयमै आएर लगाउने गर्नुपरेको, झोला घर नलगी बिद्यालय मै आएर आएर पढ्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक गौतमको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया