तरुण दलको लाजमर्दो धुर्बिकरण : स्थापना दिवशमा दुई गुटको दुईतिर कार्यक्रम

शेर बहादुर र राम चन्द्रले नै फरक फरक , फरक ठाउँमा गएर आफु निकटका नेता तथा कार्यक्रता माझ गरे सम्बोधन

प्रकाशित मिति:

काठमाडौं  – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आइतबार आफ्नो ६६ औँ स्थापना दिवस मनाउँदै छ । तर विगतको भन्दा यसपटक तरुण दलको स्थापना दिवस भिन्न बनेको छ । पदाधिकारीमा सिमित तरुण दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीच विवादले केन्द्रदेखि जिल्लामा विभाजन ल्याएको छ । त्यही अनुसार तरुण दलको स्थापना दिवस दुई तिर मनाइँदै छ ।अध्यक्ष बस्नेत समूहले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा स्थापना दिवस मनाइरहेको छ ।

यता महासचिव शाही समूहले सामाखुसीस्थित स्काई पार्टी प्यालेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितमा स्थापना दिवसको कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय अध्यक्ष बस्नेत र महासचिव शाहीबीचको विवाद उत्कर्षमा छ । पार्टीले आयोजना गरेको जागरण अभियानको विरोधका साथै पार्टी विपरितका गतिविधिमा लागेको भन्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पद र साधारण सदस्यताबाट हटाए थिए भने त्यसको प्रतिवादमा शाहीले अध्यक्ष बस्नेतलाई भ्रष्टाचारको आरोपमा पद तथा साधारण सदस्यबाट हटाएका थिए ।

यतिबेला महासचिव शाहीले तरुण दलमा समानान्तर गतिविधि अगाडि बढाएका छन् । विभिन्न विषयमा अध्यक्ष बस्नेत र महासचिव शाहीले फरक फरक विज्ञप्ति सार्वजनिक गर्दै आएका छन् । स्थापना दिवसमा पनि शाहीले समानान्तर कार्यक्रमको अगाडि बढाएका छन् । पहिले दुई समूहले पार्टी कार्यालयमा कार्यक्रममा राख्ने बताएका थिए । तर पछि महासचिव शाहीले पार्टी कार्यालयमै कार्यक्रमा राख्दा अप्रिय घटना हुन सक्ने भन्दै आफ्नो समूहको कार्यक्रम सामाखुसी सारेका हुुन् । पार्टीका प्रमुख तीन नेताबीच भागबन्डाका आधारमा ०७३ भदौमा पोखरामा भएको चौथो महाधिवेशनमा चार सदस्यीय कार्यसमिति गठन भएको थियो ।

अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान गुरुङ पार्टी सभापति देउवानिकट हुन् । महासचिव शाही पौडेल र उपाध्यक्ष उत्तम चापागाईं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । यता चापागाईंले समेत अध्यक्ष बस्नेतलाई सघाउँदै आएका छन् । सोही अनुसार दुई समूहले पार्टी नेताहरुलाई वक्ताका परुपमा आमन्त्रण गरेका छन् । सानेपाको कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरुलाई आमन्त्रण गरिएको छ । यता सामाखुसीको कार्यक्रममा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतलाई आमन्त्रण गरिएको छ ।