गुप्ता नर्सरीले ७० रुपैयामै सयपत्रीको माला बेच्दै

प्रकाशित मिति:

सबलपोष्ट । रुपन्देहीको ड्राइभरटोलमा रहेको गुप्ता नर्सरीले ७० रुपैयांमै सयपत्री फूलको माला बेच्न थालेको छ । उपभोक्ताहरुलाई चाडपर्वका बेला सहुलियत दिने उद्देश्यले गत वर्षदेखि सहुलियत दरमा माला बेच्न थालेको र यस वर्ष पनि निरन्तरता दिएको नर्सरीले जनाएको छ । नर्सरीले पाल्पामा उत्पादन गरेको सयपत्री फूललाई रुपन्देहीको डाइभरटोलस्थित शोरुमबाट विक्रि गरेको छ । यसपटक नर्सरीले ६ हजार थान माला विक्रि गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष तिहारमा नर्सरीले दुई हजार माला बेचेको थियो । ‘चाडपर्वमा उपभोक्तालाई राहत दिनुपर्छ भनेर गत वर्षदेखि यो अभियान थालेका हौं’– नर्सरीका सञ्चालक शम्भुकुमार गुप्ताले भने–‘७० रुपैयांमा एउटा माला बेच्दा पनि ५–७ रुपैयां जति नाफा आउंछ ।’ तर बजारमा भने सयपत्री फूलको माला प्रतिगोटा डेढ सय रुपैयांसम्ममा विक्रि भइरहेको छ । मौकाको फाइदा उठाउने परिपाटीलाई चिर्न हामीले थोरै नाफा राखेर बेच्न थालेका शम्भुले बताए ।बजार मूल्य भन्दा आधा सस्तो मूल्य तोकेपछि गुप्ता नर्सरीको शोरुमबाट पहिलो दिनमा नै दुई हजार बढी माला विक्रि भएको अर्का सञ्चालक सुरज गुप्ताले बताए ।

५२ वर्षदेखि नर्सरी व्यवसायमा रहेको गुप्ता नर्सरी रुपन्देहीकै पहिलो नर्सरी हो । बजार मूल्य भन्दा आधा सस्तोमा माला बेच्न थालेपछि गुप्ता परिवारलाई अहिले भ्याइनभ्याई छ । २०२२ सालमा स्व. रघुनाथ गुप्ताले नर्सरी व्यवसाय सुरु गरेका हुन् । रुपन्देहीमा सबैभन्दा पहिला यो व्यवसायमा हात हालेका उनले थुप्रैलाई विरुवा रोप्न सिकाए र प्रेरणा दिए । उनले सुरु गरेको व्यवसायलाई परिवारको तेस्रो पुस्ताले पनि निरन्तरता दिइरहेको छ । पुष्प खेती र नर्सरी व्यवसायमा यो परिवारको लगाव अनुकरणीय छ । डाइभरटोलमा ५ कट्ठा जग्गामा फुल रोपेर रघुनाथले व्यवसाय थालेका थिए । अहिले डाइभरटोलसहित मणिग्राम, ठुटिपिपल, भैरहवा र पाल्पाको मदनपोखरासम्म गरी करिब ६ बिघामा उनीहरुको नर्सरी छ । रघुनाथका ६ भाइ छोराहरु विनोद, शम्भु, राजेन्द्र, राजेश, सुरज र अर्जुन सबैजनाले सगोलमै नर्सरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।रघुनाथका नातिहरु अजय, बिक्की, आशिष, अनिष पनि नर्सरी व्यवसायमै संलग्न छन् । रघुनाथका नाति अजयले त बेलायतको लण्डनस्थित कलेजमा नर्सरी डिजाइनिङ र व्यवस्थापनमा डिप्लोमा र एमबीए अध्ययन गरेर फर्केका छन् । हालसम्म एक करोड रुपैयाँ बढी लगानी भइसकेको नर्सरीमा फूल र अन्य गरी डेढ सय जातका विरुवा उत्पादन हुन्छन् । परिवारका एक सदस्य सुरज गुप्ताका अनुसार सिजनल फूल ७० जात, बाह्रमासे फूल ५० जात, शो प्लान्ट २० जात र फलफूलका १५ जातका विरुवा यो नर्सरीमा लगाइएको छ ।

नर्सरीले फूल र विरुवा उत्पादनसँगै पुष्प व्यवसाय र नर्सरीसम्बन्धी परामर्श सेवा र रिसर्च (अनुसन्धान) तथा ठूला होटल, रिसोर्ट, सरकारी(गैरसरकारी कार्यालयहरुमा गार्डेनिङ पनि गरिरहेको छ । गुप्ता नर्सरीले तराईमा लोप हुन लागेको अम्बालाई अन्वेषण र विकास गरेको छ भने सिन्दुरे आँप, सुन कागती, मेवाको पनि विरुवा उत्पादन गरिरहेको सुरजले जानकारी दिए । नर्सरीले कुन स्थानमा कुन जातका विरुवा र फलफूल लगाउन उपयुक्त हुन्छ भनेर स्थानीय तहका सरकार तथा विभिन्न संघसंस्थालाई परामर्श समेत दिने गरेको छ । पुष्प र नर्सरी व्यवसायमा गुणस्तरीय काम गरेको मूल्यांकन गर्दै यो नर्सरीलाई सन् २००३ मा स्वीजरलयाण्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेसनल गोल्ड स्टार अवार्ड प्रदान गरेको थियो । यसैगरी फ्लोरिकल्चर एसोसिएसन नेपालले २०६४ सालमा कदरपत्रले प्रदान गरेको थियो । विभिन्न औद्योगिक तथा व्यापारिक मेलाहरुमा स्टल सजावट र उत्पादनको मूल्यांकनका आधारमा यो नर्सरी प्रथम, द्वितीय हुँदै आएको छ । फूलको बढ्दो माग र मौसमको प्रतिकूलताका कारण अब हाइटेक प्रविधिमा जाने सोच बनाइएको शम्भु गुप्ताले बताए ।