परिर्वतनकारी शक्तिलाई अप्ठ्यारो पर्न सक्ने पुर्वराजाको चेतावनी

प्रकाशित मिति:

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् । कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने बताए ।

जुनसुकै परिवर्तन हुँदा दुईटा महत्वपूर्ण कुरा हुुनुपर्छ  एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहले भने  यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन र परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ । भाइटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरेका छन् ।लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।