बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन

प्रकाशित मिति:

एजेन्सी- लामो विवादपछि बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने निश्चित भएको छ। प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावमा संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ले निर्वाचन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो। तल्लो सदनले यो प्रस्ताव बहुमतले पारित गरेपछि अब आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आम निर्वाचन हुने पक्का भएको हो। डिसेम्बर १२ मा आम निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा मतदान भएको थियो।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० सांसदले मत दिएका थिए। संसदको बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव यसपटक भने सफल भएको हो। यसअघि प्रधानमन्त्री कोर्बिनले तीन पटकसम्म ल्याएको निर्वाचन प्रस्ताव संसदले अस्वीकृत गरिदिएको थियो। तल्लो सदनबाट पास भएको निर्वाचनसम्बन्धी विधेयक अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गरेपछि कानुन बन्नेछ। यसरी पारित भएको कानुनअनुसार निर्वाचन हुनेछ।

डिसेम्बर १२ मा हुने मतदानको नतिजा भोलिपल्टै अर्थात् डिसेम्बर १३ मा आउनेछ। बेलायतमा पाँच वर्षमा दोस्रो पटक निर्वाचन हुन लागेको हो। सन् १९२३ पछि बेलायतमा डिसेम्बर महिनामा गर्न लागिएको यो पहिलो निर्वाचन हो। बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले डिसेम्बर ९ मा चुनाव गराउन चाहेको थियो। उक्त समयमा विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि मतदान गर्न सहभागी हुन सक्ने उनीहरुको तर्क थियो। त्यतिन्जेलसम्म शैक्षिक सत्र चलिरहेको हुने भएकाले उनीहरुको यस्तो माग थियो। यद्यपि लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दल निर्वाचनमा जान तयार भएको बताएका थिए।

डिसेम्बर महिनामा बेलायतमा अत्यधिक जाडो हुन्छ। जाडोयाममा बेलायतमा दिन एकदम छोटो हुने भएकाले यसलाई चुनौतीको रुपमा लिइएको छ। मध्याह्नपछि नै अँध्यारो सुरु हुने भएकाले सरकारलाई निर्वाचन सम्पन्न गराउने र मतदाता गर्न आउने मानिसहरुलाई चुनौती छ। ९६ वर्षपछि डिसेम्बर महिनामा गर्न लागिएको हो। चुनाव जाडोको कारण चुनौतिपूर्ण हुने कतिपयले अनुमान गरेका छन्। ३१ जनवरीसम्मको समयसीमा युरोपेली संघले बेलायत इयूबाट अलग हुनका लागि अर्को वर्ष ३१ ज्नबरीसम्मको समय दिएको छ।

ब्रेग्जिटको यो समयावधिअघि नै नयाँ सरकार निर्माण हुने गरी आम निर्वाचन गर्न हुन लागेको हो। ‘बेलायती संसदले ३१ जनवरीभन्दा पहिले सम्झौताको अनुमति दिएमा ईयूसँग अलग हुनेछ,’ इयुले भनेको छ। बेलायतमा ब्रेग्जिटको सर्मथन र विरोध दुवै पक्ष उतिकै सक्रिय छ। २०१६ मा बेलायतमा भएको एक जनमत संग्रहमा ५२ प्रतिशत मानिसले ब्रेग्जिटको सर्मथन गरेका थिए भने ४८ प्रतिशतले विरोध गरेका थिए। -बीबीसी हिन्दीबाट