बलात्कार आरोपित राईमाथि कारबाही गर्न आरआर स्ववियुको माग

प्रकाशित मिति:

काठमाडौं – बलात्कार आरोपित आफ्ना संगठनका सहसचिव इन्द्रहाङ राईबारे अनुसन्धान गर्न रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले माग गरेको छ । साथै उसले राईमाथि कारबाही गर्दै संगठनको जिम्मेवारीबाट मुक्त गरेको छ । राईमाथि काठमाडौंको माकलबारीमा एक युवतीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको विषय सार्वजनिक भएलगत्तै आरआरको तत्कालीन स्ववियुले कानूनी दायरामा ल्याएर हदैसम्म कारबाही गर्न माग गरेको हो । ‘संगठनको फलामे अनुशासनको प्रवाह नगरी यस किसिमको घिनलाग्दा क्रियाकलापमा संलग्न जो भए पनि हदैसम्मको कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ’, रत्नराज्यलक्ष्मी क्याम्पसका तत्कालीन स्ववियु सभापति तपेन्द्रबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरी प्रशासनले थप अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्दै शाहीले छानबिनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । आरोपबारे छानबिन गर्न माग गरेको तत्कालीन स्ववियुले उनलाई जिम्मेवारीबाट समेत मुक्त गरेको छ । राई अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत हुन् । आरआरको स्वबियुले राईमाथि कारबाही गरे पनि अनेरास्ववियुले भने उनीमाथि लागेको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छ । बलात्कार आरोपित राई मंगलबार नै पक्राउ परिसकेका छन् । प्रहरीका अनुसार, उनीबारे अहिले थप अनुसन्धान भइरहेको छ ।