कुदिरहेको रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७० पुग्यो

प्रकाशित मिति:

एजेन्सी – पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो । स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाए अनुसार कम्तीमा ७० जना मारिएका छन् भने अरू ३० जना घाइते भएका छन् ।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए । रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार हताहत हुने मानिसको सङ्ख्या अझ बढ्न सक्नेछ। “दुईवटा स्टोभ पड्कि ए। उनीहरू खाना पकाउँदै थिए । उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने । हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।