भारतमा तीन नेपालीको हत्या आरोपमा एक जना पक्राउ

प्रकाशित मिति:

भारत – गत शुक्रवार (कात्तिक ८ गते) भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका वडा नम्वर ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सीयारीवाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो ।

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धित गर्दै प्रहरी सहायक निरीक्षक महराले बताए “कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुंगाले टाउको हिर्काएको र त्यसपछी धनबहादुर आफैले हसियाले उनीहरुको लिंग काटेको प्रहरीलाई बयान दिएका छन्” प्रहरी सहायक निरीक्षक महराले भने“सबैले संगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको खादैंन भन्दा नमानेको र जबरजस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुंगा र हसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुर भारतीय प्रहरीलाई बयान दिएका छन्” यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती वोहरा (किर्रा)को संलग्नता रहेको आशंका गरेको थियो । तर कलावती उनीहरुको सामूहिक हत्या हुनअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले उनलाई कात्तिक ११ गते बझाङवाट पक्राउ गरेको थियो ।

कलावतीलाई पनि अनुसन्धान तथा सोधपुछका लागी पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो । सोधपुछका क्रममा कलावतीले हत्याहुनुअघि आफू नेपाल आएको बयान दिएको थियो । सोधपुछपछि महिलालाई जिल्ला अस्पताल बैतडीको सेफ हाउसमा राखिएको छ । हरिश बोहराले कलावतिसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतिले हरिश बोहरासँग दोश्रो विवाह गरेको बुझिएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीलेसमेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो । मृतक तीनैजनाको उनका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् । भारतमा सामूहिक हत्याभएपछी उनीहरुको गाउँ नै शोकमा डुबेको छ ।