सरकारकै घटक पार्टीका नेता एवं प्रदेशमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई जेल हाल्ने चेतावनी

प्रकाशित मिति:

जनकपुर – केन्दीय सरकारमा सहभागी समाजवादी पार्टीको नेता एवं प्रदेश–२ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रधानमन्त्री केपी ओलीलाई नै जेल हाल्ने चेतावनी दिएका छन् । का‌ग्रेस र नेकपाका केही नेताले गौर घटनामा उपेन्द्र यादवलाई जेल जाने बताइरहेका बेला नेता यादवले सप्तरीको मलेठ घटनामा प्रधानमन्त्रीलाई नै हत्कडी लाग्ने बताएका हुन् । ‘गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जान्छन्,’ सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेकाले उनीहरुलाई पहिले हतकडी लाग्छ ।’

उनले का‌ग्रेस र नेकपाका केहि नेताले गौर घटनामा उपेन्द्र यादवलाई जेल पठाउने ध्वाँस देखाउनु बच्चालाई भुत देखाएर डराउनुजस्तै भएको टिप्पणी गरे। समाजवादी पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले मलेठ घटनाको छानविनका लागि प्रदेश सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको र सरकारलाई बुझाउने तयारी गरेको पनि बताए। उनले गौर घटनाको निष्पक्ष छानविनका लागि समाजवादी पार्टी तयार रहेको भन्दै मलेठ घटनाको पनि निष्पक्ष छानविन हुनुपर्ने र दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्ने बताए।

एक फरक प्रसंगमा मन्त्री यादवले नेकपा अध्यक्षद्धय ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्न तयार नभए पतन हुने समेत बताए। उनले हरेक समुदायको अधिकार संविधानमा ग्यारेण्टीका लागि समाजवादी पार्टीले आन्दोलन गर्ने तयारी थालिसकेको बताए। उनले अब सिंहदरबार केन्द्रित आन्दोलन हुने भन्दै तयार भएर बस्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे। ७ चैत ०६३ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमको आक्रमणबाट गौरमा तत्कालीन माओवादीका २७ कार्यकर्ता मारिएका थिए । त्यस्तै, २३ फागुन ०७३ मा सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली प्रहारबाट मधेशी मोर्चाका ५ जनाको मृत्यु भएको थियो । – न्युजसेवाबाट