स्मार्ट लाइसेन्स अब एक दिनमै पाइने !

प्रकाशित मिति:

काठमाडौं– सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो । अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो । उनले भने, “हाम्रो सबै विवरण भएका कम्प्युटर र प्रिन्टरको जडानका लागि समय लागेको हो ।”

अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उनले बताए । परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन । छपाइका क्रममा कार्ड स्पष्ट आएको छ । उनले भने, “पूर्णरूपमा चलाउन अब कुनै बाधा छैन ।” विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ । काठमाडौँ उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने उनले बताए । काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुने उनको भनाइ छ । उनले भने, “उपकरणका कारण अब ढिलो हुँदैन ।”

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले रु १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । अहिले विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयहरुले बताउँदै आएका छन् । स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बने/नबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कन परिरहेको उनले बताए । उनले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका थिए ।

तीन पटकसम्म पनि त्यहाँ कार्यरत कर्मचारीले विभागबाट बनेर नआएको भनेपछि उनी एक पटक बुझ्नका लागि विभाग पुगे । विभागले चालक अनुमतिपत्र बनेपछि कार्यालयमा नै जान्छ भन्ने र कार्यालयमा तीन पटकसम्म नआएपछि अहिले कतै पनि जान छाडेको उनले बताए । सडकमा छड्के जाँच हुँदा उनले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गरेका छन् । उनले भने, “रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु ।” विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीन मात्रै काम गर्ने अवस्थामा छन् ।

– सञ्चिता घिमिरे / रासस