(प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

प्रकाशित मिति:

काठमाडौं – सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहबरमा छाड्न सोमबार आदेश दिएको हो।

सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न यसअघि पनि दुईपटक आदेश दिइसकेको छ । यसअघि दुवैपटक सर्वोच्चको आदेशमा रिहा भएलगत्तै उनलाई फेरि पक्राउ गरिएको थियो । सरकारको यस्तो कार्यलाई सर्वोच्चले ‘अदालतको आदेशलाई असम्मान’ भनी टिप्पणी गरेको छ । ‘सम्मान र कार्यान्वयन गर्नुपर्ने निकायबाट असम्मान गरेको भन्दै गम्भीर सरोकार रहेको छ’, सोमबारको आदेशमा उल्लेख छ।

सुरुमा विश्वकर्मालाई चन्दा असुलीको आरोपमा पक्राउ गरिएको थियो । उनका भाइ वीरेन्द्रले विश्वकर्मालाई थुनामुक्त गर्न माग राखी पहिलोपटक भदौ १ मा सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले विश्वकर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको ठहर गर्दै भदौ ७ मा छाड्न आदेश दिएको थियो । तर मुक्त भएलगत्तै फेरि विश्वकर्मा पक्राउ परेका थिए । त्यस लगत्तै प्रहरीले क्रसर उद्योगमा आगजनी गरेको घटनामा संलग्न भएको भन्दै विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको थियो । त्यसलगत्तै सर्वोच्चमा दोस्रोपटक बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको थियो । सर्वोच्चले दोस्रोपटक पनि गैरकानुनी थुनामा राखेको ठहर गर्दै विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको थियो।

आदेशपछि छुटेका विश्वकर्मालाई लगत्तै पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराइएको थियो । तेस्रोपटक एस्काभेटर मेसिनमा आगो लगाई २ करोड २३ लाखबराबरको आरोपमा उनलाई पक्राउ गरिएको थियो । यसपछि परेको रिटमा सुनुवाइ गर्दै अदालतले सोमबार अर्को आदेश दिएको हो।

दुईपटकसम्म थुनामुक्त गर्ने आदेश दिँदादिँंदै त्यसलाई उल्लंघन गरी पुनः पक्राउ गर्नु कानुनविपरीत भएको सर्वोच्चको आदेशमा उल्लेख छ । ‘यसरी अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरुबाट बारम्बार बन्दीप्रत्यक्षीकरण सम्बन्धमा भएको अदालतको आदेशलाई असम्मान गरेकोमा अदालतको गम्भीर सरोकार रहेको छ’, आदेशमा भनिएको छ, ‘निज खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छोडी सोको सक्कल कागज अदालतको मिसिल सामेल राख्नू।’