पुनहरि बेल्बासे\ भैरहवा । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को खिल्ली उडाउँदै भैरहवाको एक निजी औषधी पसलले जनस्वास्थ्य माथि खेलवाड गरेको पाइएको छ । भैरहवाको बुद्धचोकमा रहेको रिलिफ फार्माले यसरी जनस्वास्थ्य माथि खेलवाड गरिरहेको छ । औषधी व्यवस्था विभागमा दर्ता रहेको भनिएको उक्त फार्मेसीले औषधी पसल सञ्चालनको लागि मात्र औषधी व्यवस्था विभाग बाट स्विकृति लिएको छ । तर त्यहाँ बाट प्याथोलोजी सेवा, एक्सरे सेवा, तथा भिडियो एक्सरे सेवा पनि सञ्चालन गरी रहेको छ । एक्सरे र प्याथोलोजिमा दक्ष स्वास्थ्यकर्मी रहेको भनिए पनि भिडियो एक्सरेको लागि त्यहाँ न त रेडियोलोजिष्ट चिकित्सक नै छन् न त दक्ष स्वास्थ्यकर्मी ।
यहि भदौ १३ गते एक युवतीको भिडियो एक्सरे गराउन भनी उक्त फार्मेसीमा जाँदा उक्त तथ्य बाहिरिएको हो । पेट दुख्यो एक पटक भिडियो एक्सरे गरी हेरौँ न भनी युवतीको आफ्नै चाहना अनुरुप भिडियो एक्सरे गर्न जाँदा त्यहाँ न त चिकित्सक नै थिए नत दक्ष प्राविधिक । एकै छिनको पर्खाइ पछि एक महिला आइन् । उनी आए लगत्तै ल डाक्टर आउनुभयो भिडियो एक्सरे गर्न भित्र जानुस भनियो । भिडियो एक्सरे पनि भयो । रहस्य तब थाहा भयो जब भिडियो एक्सरेको रिपोर्ट आयो । भिडियो एक्सरेको रिपोर्ट भिम अस्पताल भैरहवाका पूर्व मेडिकल सुपरिन्टेण्डेण्ट डा. रामजी चौधरीको नाम बाट दिइयो ।
यसबारेमा उक्त फार्मेसीमा बुझ्दा भिडियो एक्सरे गर्ने ती महिला (कथित डाक्टर) को योग्यता के हो, मेडिकल काउन्सील नं. कति हो यस बारे मेडिकल सञ्चालकलाई पनि थाहा छैन । नत ती महिला सँग नै यसको जवाफ छ । भिडियो एक्सरे गर्ने महिला सँग यसबारे बुझ्न खोज्दा उनी भन्छिन मैले रेडियोलोजीमा मास्टर्स गर्दैछु, रिजल्ट आए पछि दर्ता गराउँछु तर म नेपाल मेडिकल काउन्सीलमा दर्ता छैन । यसबाट के स्पष्ट हुन्छ भने न त ती महिला चिकित्सक हुन, न त उनी सँग भिडियो एक्सरे गर्ने योग्यता नै छ ।
किन तपाईहरुले डा. चौधरीको लेटर प्याडमा रिपोर्ट दिनु भएको छ त भन्ने प्रश्नमा मेडिकल सञ्चालक महिलाले प्रति प्रश्न गर्दै मेडिकल कलेजमा भिडियो एक्सरे गर्ने को हो भनेर कसैले सोधेको छ ? त्यहाँ बाट जसले रिपोर्ट दिए पनि तपाईहरु चुपचाप बस्नुहुन्छ हामीले त के नै गरेका छाँ र इमरजेन्सी पर्दा मात्र भिडियो एक्सरे गरिदिने त होनी अनि किन हाम्रो पछाडी लाग्नु भएको छ ? भन्नुहुन्छ ।
रेडियोलोजिष्ट भन्दा अरुले के भिडियो एक्सरे गर्न मिल्छ त ? यसबारेमा डा. रामजी चौधरी सँग बुझ्दा रेडियोलोजिष्ट बाहेक अन्य कुनै चिकित्सकले निश्चित अवधीको तालिम लिएको छ भने बिरामीको भिडियो एक्सरे गर्न पाउने प्रचलन रहेता पनि अन्य कुनै प्राविधिक वा स्वास्थ्यकर्मीले चिकित्सकको उपस्थिति विना भिडियो एक्सरे गर्न नमिल्ने बताउनुहुन्छ । तपाईको नामको लेटर प्याड दुरुपयोग भई भटाभट भिडियो एक्सरे भइरहेको पाइएको छ नि डाक्टर साहेव तपाईलाई थाहा छ यसबारेमा ? भन्ने प्रश्नमा आफूले केही दिन अगाडि यो हल्ला सुनेको तर आफुले नदेखेको बताउँदै यसो भएको छ भने यो गलत काम हो यसलाई म रोक्नको लागि पहल गर्छु भन्नुहुन्छ डा. चौधरी
उता जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य निरीक्षक मोती प्रसाद पौडेलले यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीलाई कुनै जानकारी नभएको बताउँदै त्यस्ता उजुरी आएमा अनुगमन गरी नियमानुसार गरिने बताउनुहुन्छ ।
स्रोतका अनुसार रिलिफ फार्मेसीमा आउने बिरामीको भिडियो एक्सरे गरिदिने ती महिला, डा. रामजी चौधरीकी बुहारी इन्दु सिंह हुन् । उनले आफ्ना ससुरा डाक्टर रामजी चौधरीको नामबाट भिडियो एक्सरे गर्ने र निज कै नामबाट रिपोर्ट दिने गरिरहेकी छन् ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को दफा २३ (ग) मा स्पष्ट भनेको छ रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता देहाय बमोजिम हुनु पर्नेछ (१) रेडियोलोजिष्ट मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्रमा स्नातक तह उतिर्ण गरी रेडियोलोजी विषयमा एम डी, डी एम आर डी, एफ आर सी आर वा सो सरह कोर्ष उतीर्ण गरेको हुनु पर्नेछ । (२) रेडियोलोजी एण्ड ईमेजिङ्गको रिपोर्टिङ्ग रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने साथै रेडियोलोजिकल प्रोसिड्योरहरु पनि यथासम्भव रडियोलोजिष्टले गर्ने व्यवस्था मिलाउनु पर्नेछ । त्यस्तै दफा २३ (ङ) मा अल्ट्रासोनोग्रामको प्रयोग सम्बन्धमा रेडियोलोजिष्टहरु बाहेक आप्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको युएसजी तालिम प्राप्त गरेको स्त्री तथा प्रसूति रोग सम्बन्धी बिशेषज्ञहरुले गर्न पाउनेछन् भनी स्पष्ट पारेको छ ।
रिलिफ फार्मेसीमा एक्सरेको लागि चाहिने मापदण्ड पनि पूरा गरिएको छैन । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को २३ (क) अनुसार (१) एक्सरेको लागि कम्तिमा २ सय २५ स्क्वायर फिटको कोठा उपलब्ध हुनु पर्ने । (२) एक्सरे गर्ने कोठाको भित्ताको मोंंटाई (क) प्लाष्टर अफ पेरिस सहित ९ ईञ्च वा (ख) शुन्य दशमलव बीस मिलिमिटरको लिडव्यारिएर सहित ६ ईन्चको हुनु पर्ने । साथै भ्याल, ढोका तथा भित्ताबाट हुने विकिरणको चुहावट हुन नसक्ने गरी आवश्यक व्यवस्था भएको हुुनुपर्ने । भनिएको भए पनि मापदण्ड अनुसारको कुनै पूर्वाधार रहेको छैन । कुनै पनि सामान खरिद गरिसकेपछि उपभोक्ताले बिल लिन पाउने अधिकार रहेता पनि उक्त फार्मेसीले औषधी खरिद र भिडियो एक्सरे गरेको बिल समेत कापीको पन्नामा लेखेर दिने गरेका छन् ।
प्रचलित ऐनकानुनको खिल्ली उडाउँदै जिल्ला सदरमुकाम मै यसरी जनस्वास्थ्य माथी खेलवाड गरिनु र भिडियो एक्सरेको नाममा ठगि हुनु चिन्ताको विषय हो यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।