यसकारण हुन्छ पुरुषमा बांझोपन

१६ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


महिला वा पुरुषका प्रजनन अंगमा आएको खराबीका कारण गर्भाधान नहुनु बाँझोपन हो । यो आफैँमा एक किसिमको रोग हो । त्यस्तै, अन्य रोगको असरका कारण पनि निःसन्तानको समस्या निम्तिन सक्छ । सामान्यतया हाम्रो समाजमा अझै पनि महिलाकै मात्र कमजोरीका कारण निःसन्तानको समस्या देखिन्छ भन्ने मान्यता हाबी छ । तर, बाँझोपनको समस्या महिलामा मात्रै होइन, पुरुषमा पनि देखिन्छ । अव्यवस्थित जीवनशैलीका कारण पुरुषमा बाँझोपनको समस्या बढ्न थालेको पाइन्छ ।
कारण

विश्वमा प्रत्येक वर्ष पूरुषमा दुई प्रतिशतले प्रजनन क्षमतामा कमी आइरहेको पछिल्लो एक अध्ययनको निष्कर्ष छ । पुरुषमा प्रजनन क्षमता घट्दै जानुमा अत्यधिक तनाव, रेडियसनको प्रभाव, विभिन्न वस्तुमा प्रयोग गरिने रसायन, धूम्रपान, मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, मोबाइल तथा कम्प्युटरको प्रयोग आदिलाई लिइन्छ ।  करिब १५ प्रतिशत बाँझोपनको कारण नै थाहा हुँदैन । ओलिगो, एस्थेनो, टेराटो, स्पर्नियालगायत समस्याका कारण पुरुषमा बाँझोपनको समस्या हुन्छ ।  सामान्यतया एक एमएल वीर्यमा कम्तीमा डेढ करोड शुक्रकीट हुनुपर्छ । शुक्रकीटको संख्या कम र गति निकै कम हुदाँ बाँझोपन निम्तिन्छ । शुक्रकीटको आकार अर्को कारण हो । सामान्यतया शुक्रकीटको टाउको र पुच्छर जोडिएको हुन्छ । तर, कतिपयमा पुच्छर नहुने र कतिपयमा टाउको दुईटा हुन्छन् । यस्तो अवस्थामा पनि बाँझोपन हुन सक्छ ।
त्यस्तै, अण्डकोषमा हुने विभिन्न समस्याका कारण निःसन्तानको समस्या देखिन्छ । क्रोमोजोमको समस्याका कारण पनि बाँझोपन हुने गर्छ ।
हर्मोनको कमी अथवा गडबडी अर्को कारण हो । पिट्युटरी ग्रन्थी अर्थात् दिमागी हर्मोनमा आउने परिवर्तनले यस्तो सम्भावना बढ्ने गर्छ ।
मोटोपना, मधुमेह, मिर्गौला, कलेजो आदिमा हुने समस्याका कारण पनि हर्मोनमा परिवर्तन आइदिन्छ ।
एन्टिबायोटिक औषधिको प्रयोगले समेत कतिपय अवस्थामा हर्मोनको कमी हुन सक्छ । स्टेरोड, रक्तचापका लागि प्रयोग गरिने औषधि र बाथरोगका लागि प्रयोगमा ल्याइने केही औषधिले पनि शुक्रकीटमा कमी ल्याउने गर्छन् ।
उपचार

अण्डकोषको चेकजाँच, शुक्रकीटको अवस्था र शरीरमा हर्मोनको अवस्था जाँच गरेर बाँझोपनको कारण पत्ता लगाइने गरिन्छ । बाँझोपनको कारण पत्ता लगाएर यसको उपचार गर्न सकिन्छ । हर्मोनको कमीका कारण बाँझोपन भएमा हर्मोन दिएर उपचार गर्न सकिन्छ । यसअन्तर्गत शुक्रकीटको अवस्थामा पनि सुधार ल्याउन सकिन्छ ।  कतिपयमा दिमागी हर्मोनको कमीका कारण बाँझोपन भएमा अन्य प्रविधिबाट शुक्रकीट निकालेर बाहिर नै फर्टिलाइज गर्न सकिन्छ ।  कतिपय अवस्थामा विभिन्न दीर्घरोग र यसको उपचारमा प्रयोग गरिने औषधिले पनि शुक्रकीटको संख्या घटाइदिने हुँदा रोगको उपचार गर्नुपर्छ ।

डा . नरेश पराजुली
मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ
मनमोहन मेमोरियल अस्पताल

फेसबुकबाट तपाईको प्रतिक्रिया