कोहलपुरका डिएसपीमाथि छानबिन गर्न एसएसपी केसीको संयोजकत्वमा समिति

प्रकाशित मिति:

बाँके – इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ। शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ। पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको शाहले बताए। ‘एसएसपीसाब नेतृत्वको टोली घटना अनुसन्धान र छानबिन गर्न बाँके गइसकेको छ,’ डिआइजी शाहले सेतोपाटीसँग भने।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज-२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो। पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो। ‘समितिले सत्य-तथ्य दिएपछि कारबाही हुन्छ, डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिन्छ,’ उनले भने। तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनुचाहिँ ‘नियतवश’ रहेको डिआइजी शाहीले बताए।

‘डिएसपीले के कसो माग गरेको हो भन्नेबारे जिल्ला प्रहरी प्रमुख नभए मलाई पहिले नै किन भनिएन र अहिले हतियार बरामद भएपछि मात्र अडियो बाहिर निकालियो भन्नेमा ‘नियत’ देखिन्छ,’ शाहले भने, ‘पहिले भनेको भए हामी कारबाही गरिहाल्थ्यौं।’ शाहका अनुसार नमस्ते रिसोर्टमा तरूण दल अध्यक्ष शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो। त्यो सूचना पहिले बाँकेका प्रहरी उपरीक्षकलाई आएर उनले शाहीलाई त्यहाँ खटाएका थिए। ‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ इमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भने। प्रहरीले आचरणविपरीत काम गरेको र हतियार बरामद भएको घटना अलग भएकाले यसमा ‘राजनीति’ गर्न नहुने शाहको भनाइ छ। ‘गैरकानुनी हतियार बोक्नेलाई समात्ने प्रहरीको दायित्व हो, यसमा दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ,’ उनले भने, ‘आचरणविपरीत काम गर्ने प्रहरीलाई प्रहरी ऐन नियमावली बमोजिम कारबाही हुन्छ।’ -सेतोपाटी