कोहलपुरका डीएसपीलाई विभागीय कारवाही गरियोस्ः कांग्रेस

१७ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं – नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक ९डीएसपी) हेमबहादुर शाहीलाई तत्काल विभागीय कारवाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहान ट्विटरमार्फत् नेपाल प्रहरीसँग शाहीलाई विभागीय कारवाही गर्न माग गरेका हुन् । शर्माले प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा दिएको धम्कीको रेकर्ड सार्वजनिक भइसकेको स्मरण गराउँदै उनलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन् ।

“धम्कीको रेकर्ड सार्वजनिक छ, @NepalPoliceHQ ले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् । प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्को तीन मन्त्र पुनः पढाइयोस्,” प्रवक्ता शर्माले ट्विट गरेका छन् । प्रहरी नायव उपरीक्षक शाहीले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्कालाई टेलिफोनमा दिएको धम्कीको रेकर्ड शुक्रबार सार्वजनिक भएको थियो ।

उक्त फोन रेकर्डअनुसार दसैं अगाडि शाहीले खड्कासँग खसी मागेको, खसी नदिएपछि उनीहरुबीच विवाद बढेको देखिन्छ । तरुण दलका कोषाध्यक्ष खड्काले पनि बाह्रखरीसँगको कुराकानीमा आफूले खसी नदिएपछि प्रहरी नायव उपरीक्षक शाहीले धम्की आएको दाबी गरेका छन् । उनले भने, ‘‘ममाथि खतरा छ । मैले खसी नदिएपछि डीएसपीले त्यसको रिस पोख्न लागेका हुन् ।” “मलाई सरुवा गराउँछु भन्दै हिँडेको छस् रे ! तँ फुक्दै हिन, तेरो तिघ्रा छेड्दिन्छु मैले । तँसँग वार नै भयो मेरो,” सार्वजनिक अडियोमा पनि भनिएको छ । सार्वजनिक भएको अडियो प्रहरी नायव उपरीक्षक शाहीकै हो वा होइन भन्ने पुष्टि भने भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया