अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग

प्रकाशित मिति:

काठमाडौं – पाटनको कृष्ण मन्दिरको सांस्कृतिक संरक्षण गर्न अमेरिकी राजदूत कोषले सहयोग गरेको छ । २०७२ साल वैशाख १२ को भूकम्मपका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको पाटनस्थित अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका राजदूत कोषमार्फत अमेरिकी राजदूतावासले १ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको हो । काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर सहयोगको औपचारिक शुरुवात गर्न पाउँदा गौरवान्वित भएको अमेरिकी दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

शुक्रवार पाटनमा आयोजित एक समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले पुनर्स्थापना र संरक्षण कार्य सुरुवात गरेको राजदूतावासले जनाएको छ ।

सामाजिक सञ्जालमा जारी गरेको एक भिडियोमा राजदूत बेरीले सम्पदा संरक्षण एकदमै महत्वपूर्ण रहेको बताएका छन् ।
‘सम्पदा संरक्षण एकदमै महत्वपूर्ण छ’ राजदूतले भने,‘नेपाली जनाताको लागि आफ्नो इतिहास र संस्कृती कति प्यारो छ भन्ने आफूले राम्रोसँग बुझेको छु ।’ विगत दुई दशकमा दूतावासले २४ वटा सम्पदाको पुनर्निमाण र संरक्षका लागि साढे तीस लाख अमेरिकी डलर सहयोग गरेको छ ।