नेकपाले टुंगो लगायो आफ्ना उमेदवार : कास्कीमा विद्या, दाङमा विमला, भक्तपुरमा डीपी ढकाल

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ मा विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ– ३(ख)मा विमला वलीलाई उठाउने भएको छ । बाग्लुङको प्रदेशसभामा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको छ । रिक्त ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको उमेदवारी भने सम्बन्धित प्रदेश कमिटीले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै आज बसेको नेकपा सचिवालयको बैठकले धरान उपमहानगरको मेयर पदमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ। नेकपाले आइतबार तय गरेका उमेदवारमध्ये पूर्वमाओवादी केन्द्रले एक स्थानमात्र पाएको छ । भक्तपुर–१को प्रदेशसभाका उमेदवार बनेका डीपी पूर्वमाओवादी केन्द्रका हुन् ।

कास्की जिल्ला कमिटीले विद्या भट्टराईको नाम एकल रूपमा सिफारिस गरेको भए पनि प्रदेशले सोमनाथ अधिकारी र राजकाजी गुरूङको नाम पनि थपेको थियो । तर, चुनाव जित्नैपर्ने दबाबमा रहेको नेकपाले अन्ततः दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईलाई उमेदवार तय गरेको हो । गत फागुन १५ गते ताप्लेजुङको तारेढुङ्गामा हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि कास्की–२ रिक्त हुन पुगेको थियो । मन्त्री अधिकारीको श्रीमती भएकैले मात्रै उनलाई टिकट दिन लागिएको नभइ पार्टीमा उनको योगदान हेरेर मूल्याङ्कन गरिएको नेकपाका नेताहरु बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापकसमेत रहेकी भट्टराई माले–एमाले विभाजनताका तत्कालीन माले अखिलमा छोटो अवधिका लागि सचिवको भूमिकासमेत निर्वाह गरेकी थिइन् । गर्भपतन, प्रजनन् स्वास्थ्यसम्बन्धी अनुसन्धाता रहेकी भट्टराईले समाजशास्त्रमा एमफिल गरेकी छन् । रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने उनको राजनीतिक भूमिका केही ओझेल परेको थियो । तथापि उनी महिला सङ्घमा पनि केही समय सक्रिय रहिन् । कास्की–२ गत निर्वाचनमा नेकपाले ८ हजार ५४६ मतान्तरले चुनाव जितेको ठाउँ हो त्यो । गत निर्वाचनमा वाम गठबन्धनका लागि उमेदवार बनेका तत्कालीन एमालेका नेता रवीन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत ल्याएका थिए । निर्वाचनमा दसजना प्रतिस्पर्धी थिए तर चालिसेबाहेक अरूको जमानत पनि जोगिएन । उक्त निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेले २०६४, २०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी हासिल गरेको थियो । सचिवालय निकट स्रोतले जानकारी दिएअनुसार मङ्सिर १४ को उपनिर्वाचनमा नेकपा जित्नैपर्ने दबाबमा छ । पार्टीको मात्रै नभइ सरकारको लोकप्रियता मापनसँग पनि जोडिएकाले नेकपाले तलका कमिटीबाट जित्ने उमेदवार सिफारिस गर्न जोड दिएको थियो ।

आसन्न निर्वाचनमा बाग्लुङ्मा नेकपाले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको छ । यसअघि पनि वाम गठबन्धन र राजमोबीच तालमेल भएको थियो । गठबन्धनबाट राजमोका उमेदवार टेकबहादुर घर्तीले चुनाव जितेका थिए । अहिले पनि दिवङ्गत घर्तीकै श्रीमतीले टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । दाङ– ३ (ख)मा उमेदवार बनेकी विमला दिवङ्गत उत्तरकुमार वलीकी श्रीमती हुन् । विमला राजनीतिमा भने सक्रिय छैनन् । त्यस्तै धरान उपमहानगरको मेयर पदमा पनि चार जना आकाङ्क्क्षी ( विजय राई, प्रकाश राई, चोत्लुङ लिम्बू, विणा काफ्लेको नाम केन्द्रमा पठाइएको थियो । तीमध्ये प्रकाश, विणा, चोत्लुङ जिल्ला कमिटी सदस्य थिए । विजय प्रदेश कमिटी सदस्य थिए । तर स्थानीय नेताहरूको प्रकाश बलियो उमेदवार भएको रिपोर्टिङ गरेपछि अन्ततः उनैले टिकट पाए । -बाह्रखरी