प्रदेश प्रमुखको बर्खास्ती स्वेच्छाचारी : शेखर कोइराला

सरकारसँग सहकार्य बन्द

प्रकाशित मिति:

काठमाडौं – कांग्रेस नेता शेखर कोइरालाले बिनाकारण सरकारले प्रदेश प्रमुख हटाएर आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताए । सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला निर्णय गर्नुले गम्भीर बनाएको कोइरालाले बताए । ‘प्रदेश प्रमुख हटाउने संवैधानिक अधिकार सरकारलाई छ । तर, सरकार गठनको लामो समयपछि यस्तो निर्णय हुँदा हामीलाई गम्भीर बनाएको छ’, कोइरालाले प्रदेश प्रमुखहरूको बर्खास्तगीबारे टिप्पणी गर्दै भने ।

‘चेक एण्ड व्यालेन्स’को सिद्धान्तलाई कुल्चँदै सरकार अधिनायकवादतर्फ अघि बढेको उनको आरोप छ । त्यसकै लागि ‘राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्न सरकार उद्यत बनेको उनको भनाइ छ । सरकारको पछिल्लो निर्णयले राजनीतिक सहकार्यको ढोका बन्द गरेको टिप्पणी गर्दै उनले संघीयता असफल बनाएर मुलुकलाई द्वन्द्वमा लैजाने खेल सरकारबाटै भइरहेको बताए ।