​बझाङको सुरुङबाट तीन मजदूरको शव निकालियो, वेपत्ता एक मजदूरको खोजी जारी

प्रकाशित मिति:

काठमाडौं – बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव प्रहरीले निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ। बझाङको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जलविद्युत आयोजनाको निर्माणाधीन इनलेट सुरुङभित्र चार कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको बताए। उनले सुरुङमा फसेका थप एकको खोजी भइरहेको बताए। ‘केन्द्रले खटाएको उद्दार टोली सुरुङभित्र पसेको हो,’ श्रेष्ठले भने ‘तीनजनाको शव बरामद भएको छ, थप एकको खोजी जारी छ।’