पूर्वसभामुख महरालाई थुनामा राख्न लगियो डिल्लीबजार कारागारमा

प्रकाशित मिति:

काठमाडौं – संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुुर महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिने भएको हो ।

बन्द इजलाशमा भएको थुनछेक बहसमा महराका वकिलहरूले बहस गरेका थिए । महराकाे तर्फबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका हुन् । बहसमा पीडित भनिएकी रोशनी शाही पनि उपस्थित थिइन् । महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्ने उजुरी प्रहरीमा आफैंले दिएको कुरा उनले बहसका क्रममा बताएकी थिइन् ।