देउसी खेलेको पैसाबाट मुटु अस्पताल बनाइने

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब ५ करोड र १० करोड रुपैयाँ शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो । तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट ५ करोड सङ्कलन गरिएको उनले जानकारी दिए । अस्पताल बुटवल–१३ बेलबासको दश नम्बर टोलमा बन्ने बताइएको छ ।

बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सिर्जनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए । २५ श्ययाको उक्त अस्पतालमा ‘आइसियु’ र ‘सिसियु’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कूल लगानी २० करोड हुने उल्लेख गरे ।

उनले १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोडका उपकरण दिने बताइएको छ । अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले ३ लाख ३ हजार ३३३ दान दिएका छन् । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५५५ दिएका छन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियान्ता डण्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । – रासस