मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

प्रकाशित मिति:

नारायण न्यौपाने/अशोक घिमिरे //काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजिनामा भएको थियो भने विभिन्न स्थानीय तहका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए । जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ रहेका छन् । आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७,सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१ र रौतहटको गढिमाई नगरपालिका–२ रहेको छ । यस्तै बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाडौँको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६ मा पनि उपनिर्वाचन हुँदैछ । यसैगरी बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनका सन्र्दभमा कास्की, भक्तपुर, बागलुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुने छ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् । – रासस