काँग्रेस केन्द्रीय नेताहरुले कास्की–२ मा धनराज गुरुङलाई उठ्न आग्रह

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले धनराज गुरुङलाई चुनाव लड्न आग्रह गरेका छन् । गुरुङ पार्टीको चर्चित नेता भएकोले गुरुङलाई कास्की २ मा उठ्न आग्रह गरिएको एक कन्द्रीय नेताले जानकारी दिए । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पर्सी (बिहीबार) उमेदवारी मनोनयन हुँदैछ । तर, आजसम्म पनि कांग्रेसले मुख्य स्थानहरुमा उमेदवार टुंगो लगाउन सकेको छैन । उमेदवार टुंग्याउन आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक लम्बिएको छ ।

प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान कास्की–२ मा कसलाई टिकट दिने भन्नेमा छलफल केन्द्रित भएको बताइएको छ । सोही स्थानका बारेमा नेताहरुबीच सहमति हुन नसक्दा पदाधिकारी बैठक लम्बिएको हो । बिहान करिब १० बजेबाट सुरु भएको बैठक १ बजे स्थगित भएको छ । बैठक स्थलबाट बाहिरिएका नेता कृष्ण सिटौलाले खाना खाएपछि फेरि बैठक बस्ने बताए । कास्की–२ मा केन्द्रीय सदस्यहरुले धनराज गुरुङलाई उठाउने चाहना राखेपछि सहमति हुन नसकेको बताइएको छ । कांग्रेस स्रोतका अनुसार गुरुङलाई चुनावको टिकट दिन केन्द्रीय नेताहरुले प्रयास गर्दैछन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल चलिरहेको र कुनै निर्णय भने नभएको प्रतिक्रिया दिए । उनी पनि बूढानिलकण्ठबाट बाहिरिएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले आजै उमेदवारको टुंगो लाग्ने सम्भावना रहेको बताए ।