संसदमा सांसदले भने : बादर आतंक नियन्त्रण गर्न सरकारले ठोस कदम चालोस्

प्रकाशित मिति:

काठमाडौ \ प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताए।

उनले भने भारतको पुनामा बिम्स्टेक मुलुकका प्रधानसेनापतिसँगको बैठक र संयुक्त सैन्य अभ्यासका विषयमा कुरा सुनिएको छ, आर्थिक विकासका लागि गठन भएको क्षेत्रीय सङ्गठनमा सैन्य अभ्यासका कुरा आउनु हुँदैनथ्यो, यस्ता कदम मुलुकको हित विपरीत हुन जान्छ।क्षेत्रीय सङ्गठनको भन्दा हामीले हाम्रो मुलुकको हित र सार्वभौमसत्ताको विषयलाई हेक्का राख्नुपर्छ, आफ्नो देशको सम्बेदनशीलतालाई बिर्सिएर सार्क वा बिम्स्टेक सदस्य मुलुकका एजेण्डामा बहकिनु हुँदैन, सैन्य अभ्यास ठीक होइन” सांसद रावलले भने।

सांसद् प्रेम सुवालले बिम्स्टेक सदस्य मुलुकका सेनाको संयुक्त अभ्यासबाट मुलुकको कदापी हित हुन नसक्ने धारणा व्यक्त गरे। सांसद अमरेशकुमार सिंह विरोधस्वरुप सरकारका मन्त्रीलाई कालो झण्डा देखाउँदा मृत्युवरणसम्मको सजाय भोग्नुपर्ने परिस्थितिले लोकतन्त्रको सबलीकरणमा योगदान पुग्न नसक्ने धारणा व्यक्त गरे। उनले भने संविधान कार्यान्वयनको भूमिकामा रहेका सरकारका प्रतिनिधिबाटै संविधान उलङ्घन गर्ने काम भएको छ।

सांसद लक्ष्मणलाल कर्णले बर्दियाका राममनोहर यादवलाई कालो झण्डा देखाएकै आरोपमा पक्राउ गरी निर्मम ढङ्गबाट कुटपिट गर्दा उनको मृत्यु भएको बताउँदै यस विषयमा गृहमन्त्रीबाट जवाफ आउनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरे। सांसदद्वय अग्निप्रसाद सापकोटा र यज्ञराज सुनुवारले सिन्धुपाल्चोक र ओखलढुङ्गामा वर्षायाम शुरु भएयता बाढीपहिरोका घटनाबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे।

सांसद भरत शाहले प्रर्याप्त वर्षा भएका कारण धान उब्जनीका लागि उपयुक्त मौसम भए पनि समयमा मलखाद उपलब्ध हुन नसक्दा किसान मारमा परेको हुँदा तत्काल मलखादको व्यवस्था गर्न माग गरे। सांसद यमकुमारी छन्त्यालले बागलुङ जिल्लाबाट इञ्जिनीयरिङ पढ्न आएका छात्रको विभत्स तरिकाबाट हत्या भएको अवस्थामा स्वयम्भू क्षेत्रमा शव बरामद भएको हुँदा घटनाको छिटो छानबिनको माग गरे। सांसद दुर्गा पौडेलले बजेट खर्च नहुने ढङ्गबाट विकास निर्माणका आयोजना छनोट गर्नुपर्ने तथा उखु किसानलाई परेको मर्काका विषयमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताए।

सांसद अतहर कमाल मुसलमानले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहका प्रमुखलाई थाहै नदिई रातारात कर्मचारीको सरुवा गर्दा स्थानीय तहमा कार्यसम्पादन गर्न कठिनाई भएको धारणा व्यक्त गरे। सांसद इन्द्रकुमारी शर्माले मुलुकका विभिन्न भागमा बालिकादेखि वृद्धासम्म बलात्कृत भएका घटनाले समाजलाई नै विक्षिप्त तुल्याएको बताउँदै यस्ता अपराधका क्रियाकलापमा संलग्न आपराधीलाई कानूनी दायरामा ल्याउन र पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए। सांसद नवराज सिलवालले पशुपति क्षेत्र, हेटौँडा रामेछाप, दोलखा पर्वत जिल्लामा बाँदरबाट भएको आतङ्क र क्षतिको विवरण प्रस्तुत गर्दै सरकारबाट स्थायी रुपमा बाँदर आतङ्क रोक्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। सांसद महेश बस्नेतले पूर्ण प्रेस स्वतन्त्रताको विषय संविधानको प्रस्तावनामै उल्लेख भएकाले अहिलेको आन्दोलन प्रधानमन्त्री र गृहमन्त्रीमाथि लाञ्छना लगाउने ढङ्गबाट मात्र आएको टिप्पणी गरे।
सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गर्ने तथा प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह गरे। रासस