‘मिस्टर नेपाली’ मा म भिलेन : भुवन केसी

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं-एक समय नेपाली फिल्ममा राम्रो क्रेज भएका अभिनेता हुन्, भुवन केसी । आफ्नो समयमा उनले एकसेएक हिट फिल्म दिएका छन् । तर, गएको करीब ६र७ वर्षदेखि उनले अभिनय गरेका कुनै फिल्म दर्शकले हेर्न पाएका छैनन् । पछिल्लो पटक उनले फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’ कपाल गीतमा ठुम्का लगाएका थिए । तर, फिल्ममा उनको अभिनय थिएन । छोरा अनमोलको करिअर बनाउन लामो समयदेखि अभिनयबाट दूरी बनाएका अभिनेता भुवन केसी अब भने अभिनयलाई निरन्तरता दिने सोचमा छन् । चाँडै उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ मा भिलेनको भूमिका निभाउँदैछन् । भने, उनको प्रमुख भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ यही कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

यो फिल्ममा उनी दोहोरो भूमिकामा छन् । फिल्ममा उनी पिता र छोराको भूमिकामा छन् । जसमध्ये एउटा चरित्र नकारात्मक रहेको बताइएको छ । नायक केसी भन्छन्– ‘फिल्ममा म मुख्य नायक होइनँ । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’फिल्ममा भुवनसँगै नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । फिल्मको कथा साहिलको वरिपरी घुमेको छ । भुवनले भने– ‘यो फिल्मले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा फिल्म बनेको छ ।’ देव भुषालको निर्देशनमा फिल्म तयार भएको हो । प्रेमराज दाहाल फिल्मका निर्माता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया