डेङगु नियन्त्रणका लागि मेशिन हस्तान्तरण

प्रकाशित मिति:

बुटवल –  लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेशिन’ प्रदेश नं ५ सरकारलाई उपलब्ध भएको छ । कोरियन क्रुपि फाण्डेशनका अध्यक्ष लि साङ हुनले आज सो प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो । फाण्डेशनले रु ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य रु एक लाख ५० हजार परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको रु एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो । यस वर्ष काठमाडौँमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको बताइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ । सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताउनुभयो । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गर्नुभयो । रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो । – रासस