तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने भएको छ । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । करिव ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि लागि चार बिगाहा जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ । विशिष्टीकृत सहकारी संघ सहकारीहरुबाटै प्रवद्र्धन गरिएको संस्था हो । संघले प्रदेश ५ का झण्डै चार सय सहकारीकर्मीबीच अन्तरक्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दुधको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । उचित बजारीकरण नहुँदा दुध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् । यस्तै लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्दै दुधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । तिलोत्तमाले आफ्ना दुध उत्पादक किसानलाई प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान, पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ । यू.एच.टी. दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ ।
प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दुध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।सहकारीहरुबीचको सहकार्यले आर्थिक समृद्धिको यात्रालाई बलियो बनाएको बताउँदै उहाँले उत्पादनमुखीतर्फ अग्रसर हुँदै सहकारी क्षेत्रले थालेको साझा प्रयासले आर्थिक समृद्धिको जगलाई मजबुत बनाउने पनि बताउनुभयो । प्रदेशभरीका उपभोक्तालाई बजार बनाएर दूध उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने लक्ष्यका साथ परियोजना निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । उत्पादनको क्षेत्रमा लगानी गर्नेलाई प्रदेश सरकारले पनि प्रेरणा दिने भन्दै उहाँले सहकारी क्षेत्रमा देखिएका अप्ठेराहरु क्रमशः फुकाउँदै जाने बताउनुभयो । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाईदा किसानहरुले लिन सक्ने बताउँहुन्छ । दुग्ध प्रशोधन परियोजना सम्बन्धी अवधारणा तयार पार्नु भएका प्रदेश पाँचका पशुपंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवद्र्धन गर्ने परियोजना आफैंमा सबैका लागि प्रेरणादायी बन्ने बताउनुभयो । लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले प्रदेश ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमैं पुर्याउने बताउनुभयो ।