सत्यवतीमा चिच्याएर वर माग्ने मेला लाग्न शुरु

२० कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
851 Shares


पाल्पा- धार्मिक पर्यटनको केन्द्र बन्दै गएको पाल्पाको सत्यवती तालमा यस वर्ष पनि कात्तिक २४, २५ र २६ सत्यवती बजै मेला लाग्ने भएको छ । तिनाउँ गाउँपालिका वडा नंं ४ स्थित सत्यवती गाउँमा रहेको ताल परिसरमा सत्यवती मन्दिर व्यबस्थापन समितीले मेला गर्ने भएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर यसबर्ष सत्यवती बजैको दर्शन तथा पुजा गर्न शुभ साईत (जोग) जुरेका बताए । कात्तिके पुर्णिमा परेकाले यो वर्ष विषेश जोग परेको आयोजकको भनाई छ । कानले नसुन्ने सत्यवती बजैको दर्शन गर्ने भक्तजनले यहाँ चिच्चाएर वर मागे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।यस वर्ष तीनदिने मेलामा करिव तीन लाख भक्तजनहरुले सत्यवती बजैको दर्शन गर्ने अनुमान रहेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु पाल्पाको झुम्साबाट पैदल दुई घण्टाको उकालो हिडेपछि

मन्दिरमा पुग्ने गर्दछन् । प्रत्येक बर्ष मन्दिरबाट संकलन हुदै आएको रकम मन्दिरको व्यबस्थापन संरक्षणमा खर्च गर्दै आएको वडा अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । गत बर्षका ३ दिने मेलामा ८ लाख १४ हजार रुपैयाँ दान संकलन भएको समितीले जनाएको छ । रातीमा अनौठो प्रकारको पुजाआजा गर्ने र चिच्चाएर वर माग्ने प्रचलन नेपालका अन्य स्थानमा कतै नभएकोले एकपटक भक्तजनलाई सत्यवती बजैको मेलामा सहभागी हुन गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले अनुरोध गर्नुभयोे । मातृसत्ताको समयमा सत्यवती बजैको स्थापना भएको र बजैले कानले नसुन्ने भएकोले चिच्चाएर वर माग्ने प्रचलन आजसम्म कायम रहेको छ । मन्दिर व्यबस्थापन समितीका अध्यक्ष तिलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लालबहादुर दर्लामीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया