नेपालमा भारत विरुद्ध देशैभरी आन्दोलन सुरु, मोदीको पुत्ला जलाइयो

प्रकाशित मिति:

काठमाडौं –  भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग परेपछि नेपालमा फेरि भारत विरोधी प्रदर्शन सुरु भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देश भर भारत विरुद्ध प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरे ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नेपाल सरकारले पनि भारतीय नक्सा मान्य नभएको भन्दै कुटनीतिक रुपमा समाधान खोज्ने बताएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएको छ । कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रमा भारतले लामो समय देखि आफ्नो सैनिक राख्दै आएको भए पनि नेपालको सरकारी पक्षबाट हटाउन पहल भएको पाइदैन । पटकपटक जनताले यसको विरोध गर्दै आएको भए पनि भारतले मानिरहेको थिएन । युवा संघले पनि भारतीय कदमको विरुद्धमा आन्दोलन छेड्न बैठक आह्वान गरेको छ ।