अफताव आलमको पक्षमा २८ जना वकिलले बहस गर्दै

प्रकाशित मिति:

रौतहट – रौतहट बम विस्फोटमा परेरघाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता अफताव आलमको अदालती बयान सकिएको छ । मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो ।अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ ।आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।आलमको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुमा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे लगायत छन् ।यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयका एकजना सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले बहस गर्ने छन् ।

यस्तै, आलमविरुद्ध जाहेरी दिने (पीडित) पक्षका तर्फबाट ९ जना कानून व्यवसायीले बहस गर्नका लागि आफ्नो वकालतनामा दर्ता गराएका रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताएका छन् ।२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।