रौतहट – रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोमम्मद अफताब आलमको थुनछेक बहस शुक्रबार पनि जारी हुने भएको छ । बिहीबार दिउँसोदेखि बहस शुरु भएकोमा अदालती समय सकिएपछि भोलि (शुक्रबार)का लागि बहस सारिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे ।
बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरे । अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको श्रेस्तेदार पराजुलीले जानकारी दिए । आलमको तर्फबाट बहस गर्न भने २८ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका छन् । यस्तै, जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन् ।
बिहीबार बहस नसकिएका कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ । २७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।