राजधानीमै यसरी जलाइयो मोदीको पुत्ला

प्रकाशित मिति:

काठमाडौं – भारतीय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो नक्साङ्कन गरेको भन्दै अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । क्रान्तिकारीले राजधानीको बागबजारमा नेपालको सिमालाई नक्साङ्कन गरेको विरोध स्वरुप मोदीको पुत्ला दहन गरेको हो। पुत्ला दहन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले भने, ‘कालापानी र लिपुलेकसहित नेपाल भारत सिमाका ७१ स्थानमा विवाद छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सिमा समस्या रहेको छ । ताप्लेजुङ्गदेखि दार्चुलासम्म गरी भारतले ६०,६२७ हेक्टर मिचेको छ । १८५० किलो मिटर सिमा जोडिएको मध्ये ६ किलो मिटर विवादित छ ।’

उनले भारतको विस्तारवादी निति र हेपाहा प्रवृतिको विरोध स्वरुप आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी संकेतिक विरोध गरेको बताए । उनले भने, ‘असमान सुगौली सन्धीलाई खारेज गर्दै तिस्टा(काँगाडा फिर्ताको निम्ती सम्पूर्ण नेपाली जनतालाई आन्दोलनमा उत्रिनको निम्तीसमेत जोडदार अपिल गर्दछु ।’ पुत्ला दहनको क्रममा प्रहरी भने मुकदर्शक बनेका थिए । शुक्रबारदेखि संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रमहरुसमेत गरिने जानकारी गराएको छ ।