आलमले गरे बम घटनाको यसरी अस्वीकार

प्रकाशित मिति:

कुमार विवेकानन्द मिश्र/सञ्जयकुमार मिश्र/गौर – बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् । बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उहाँले दिनुभएको हो । बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुग्नुभएका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो । त्यस क्रममा इजलासले मिसिल संलग्न अभियोगपत्रसँगै प्रस्तुत विभिन्न प्रत्यक्षदर्शीले गरिदिएको कागज र बयान देखाउँदै घटनामा संलग्नताका विषयमा प्रश्न सोधेको थियो ।

त्यस विषयमा आलमले अस्वीकार गर्दै घटना नै नभएको दोहो¥याउनुभयो । मिसिलमा संलग्न प्रत्यक्षदर्शी तथा विभिन्न व्यक्तिको कागजका बारेमा पनि उहाँले अनभिज्ञता प्रकट गर्नुभएको बयानमा उपस्थित कानुन व्यवसायीहरूले बताउनुभयो । बुधबार आलमसँग कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्दित रही प्रश्न सोधिएको थियो । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य आलमसमेत ११ जनामाथि विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले यही सोमबार रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । मङ्गलबार विभिन्न नौ औपचारिक प्रश्नमै सीमित रहेको इजलासले बुधबार भने आलमसँग २३ वटा प्रश्न सोधेको थियो । ती सबै प्रश्नमा आलमको इन्कारी बयान छ ।

बिहान १० बजे अदालत पुग्नुभएका आलमसँग इजलासले साँझ ४ः३० बजेसम्म बयान लिएको थियो । बुधबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्द्रित रही बयान लिइए पनि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको गैरकानुनी प्रयोगका विषयमा दायर अभियोग सम्बन्धमा बिहीबार बयान लिइने स्रेस्तेदार गुणराज पराजुलीले बताउनुभयो । बिहीबार पुनः उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा पठाइएको जानकारी उहाँले दिनुभयो । सम्भवतः बिहीबार बयान सम्पन्न हुने र शुक्रबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । मुद्दा पुर्पक्षका सिलसिलामा थुनामा राख्ने वा धरौटी वा तारेखमा छाड्ने विषयमा थुनछेक बहस हुने छ ।

त्यसका लागि नेपाल सरकार र पीडित जाहेरवाला तथा आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरू रौतहट पुग्न थालेका छन् । पीडितका तर्फबाट बहस गर्न पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौला, अधिवक्ता पुष्पराज पौडेल तथा आलमका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, पूर्वमहासचिव सुनिल पोखरेल रौतहट पुगिसक्नुभएको छ । पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरहदवास्थित सेख इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएपछि सख्त घाइते भएका सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलगायतका व्यक्तिलाई नजिकैको इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । त्यस घटनामा बमको छर्रा लागेर घाइते भएका गौरीशङ्कर राम चमार र सफी अहमद भने उम्कन सफल भएकोे अभियोगपत्रमा उल्लेख छ ।