निर्मला पन्त प्रकरण : डिएनएलाई प्रमाण मान्न नमिल्ने

२१ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ। गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा. जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा. तुलसी कँडेल सदस्य थिए।

गत वर्षको साउन साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो। निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरुपण गर्न प्राविधिक अनुसन्धान समिति गठन गरिएको मन्त्रालय जनाएको थियो। कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो। तर बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन। महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शव पोस्टमार्टम गर्दा उनको मृत्यु घाँटीको अगाडिको किलकिले हड्डी भाँचिएको र यौनांगमा ‘हाइमेन टियर’ भएको तथा भेजिनल स्वाब लिँदा बिर्य नदेखिएको तर निश्चित हुन त्यसको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउनुपर्ने भनेको थियो। त्यसकै आधारमा प्रहरीले डिएनए परीक्षण गर्दै आएको थियो।

गृह मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निर्मलाको ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न नसकिएको र प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। ‘पीडितबाट संकलित ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन। प्रयोगशालाले निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नै गरेन’, ११ बुँदे प्रतिवेदनको ४ नम्रमा लेखिएको छ। त्यसैगरी ५ नम्बर बुँदामा भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो भन्ने अवस्था रहेन भन्ने उल्लेख छ। ‘भेजिनल स्वाबमा भेटिएको डिएनए पुरुषको हो भन्ने अवस्था रहेन। त्यो अरु कसैको डिएनए वा केही हुन सक्ने देखियो। साधारण भाषामा भन्नुपर्दा बलत्कारीको नभएर चेक गर्ने चिकित्सकको पनि हुन सक्ने देखियो’, सो बुँदामा लेखिएको छ। यसले गर्दा प्रहरीलाई हत्या अभियोगमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ।

प्रतिवेदनमा योनीमा शुक्रकीट शीघ्र क्षय हुने अवस्था रहेकोमा शव भेटिएको र पोस्टमार्टम भएको समयबीच लामो अन्तराल देखिएको उल्लेख छ। जसले योनीमा डिएनए क्षय हुने र बिग्रिने सम्भावना झन् बढाएको पनि प्रतिवेदनमा उल्लेख छ। ‘निर्मलाको लास भेटिएपछि कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनकारीले लासलाई ट्याक्टरमा राखेर घुमाएका थिए। जसले गर्दा प्रहरीले तत्कालै पोस्टमार्टम गर्न पाएको थिएन, पोस्टमार्टमको क्रममा प्रयोग भएका उपकरण तथा स्वाब र पोस्टमार्टम टेबल डिएनए फ्री थिएनन्। जसले गर्दा डिएन दूषित हुन सक्ने अवस्था देखियो। वास्तवमा पोस्टमार्टम गर्दा जुन तरिकाले सुरक्षा अपनाएर गुणस्तरीय उपकरण प्रयोग गर्नुपर्ने थियो, त्यो भएन। अर्थात् स्वाब निकाल्न झाडुको सिन्कोसमेत प्रयोग भयो,’ प्रतिवेदनमा लेखिएको छ।

त्यसैगरी भौतिक प्रमाण परीक्षण गर्दा सम्भव भएसम्म कम नमुना प्रयोग हुने गरी नमुना जोगाएर परीक्षण गर्नुपर्नेमा तीन वटै भेजिनल स्वाबमा परीक्षण गरिएको, भेजिनल स्वाबमा रगत परीक्षण आवश्यक नभए पनि सो गरिएको, साथै बिर्य परीक्षणमा तीन किसिमका पाँच प्रयोगका कारण डिएनएका लागि पर्याप्त नमुना जोगाउने र दूषणको सम्भावना रोक्नेतर्फ संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ। ‘निर्मला बलात्कार–हत्या काण्डमा महाकाली अञ्चल अस्पतालमा ११ साउनमा लगिएको निर्मलाको शवको पोस्टमार्टम गर्दा डाक्टरले शवको योनीभित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरीका नमुना संकलन गरी टेस्ट ट्युबमा राखिएको थियो। ती टेस्ट ट्युबबाहिर लेबल टाँसिएको थियो–१०, २ एम र ३ एचआई, त्यसरी निकालिएको स्वाब तीनवटै प्रहरीको ल्याबले प्रयोग गरेकाले अर्को ल्याबमा पठाउने नमुना नष्ट हुन पुग्यो’, प्रतिवेदनमा उल्लेख छ ‘पीडितबाट संकलित भेजिनल स्वाबमा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन। प्रयोगशालाबाट निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नै भएन।’

प्रतिवेदनमा नकारात्मक नतिजा आएको अवस्थामा डिएनए मार्कर कम्ती संख्याको भए पनि फरक नपर्ने तर सकारात्मक नतिजा आएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनपर्ने उल्लेख छ। प्रतिवेदनमा नेपाल प्रहरीको ल्याब आधुनिक नभएको पनि उल्लेख छ। ‘नेपाल प्रहरीको ल्याबमा १६ वटा मात्र मार्कर प्रयोग भएको छ। तर अहिले विश्वमा २४ वटासम्म मार्कर प्रयोग गर्ने ल्याब छन्। नेपालको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पनि २४ वटा मार्कर प्रयोग हुन्छ। त्यसैले पुलिसको ल्याबले दिएको रिपोर्ट अन्तर्राष्ट्रिय स्तरको देखिएन’, प्रतिवेदनमा लेखिएको छ। प्रतिवेदन अनुसार एउटा मात्र डिएनएको भिन्नता र समानता वास्तविक र अन्य व्यक्तिलाई छुट्याइने आधार हुन्, भएका पुरुष प्रस्तावबीच समानता तथा अध्ययन अनुसन्धानमा असम्बन्धित व्यक्तिमा समेत अत्यधिक मिल्ने गर्छ। ‘यो मुद्दामा १४ वटासम्म डिएनए आरोपितसँग मिलेका परिप्रेक्षमा प्राप्त नतिजा आरोपित व्यक्तिलाई बातिल गर्न पर्याप्त रहेको तर समानता भएको अवस्थामा महŒवपूर्ण वैज्ञानिक प्रमाणको रुप लिन नसकिने देखिन्छ र डिएनलाई ह्यान्डल गर्ने प्रोटोकल नभएको र संकलित नमुना त्रुटिरहित संकलन, भण्डारण, चेन अफ कस्टडी मेन्टेन रहेको प्रमाणित गर्न पर्याप्त आधार नरहेका कारण यसमा प्रश्न उठ्ने अवस्था रह्यो,’ प्रतिवेदनमा लेखिएको छ, ‘प्राप्त नतिजाको प्राविधिक पक्ष विश्लेषण गर्दा विश्वसनीय देखिएको तर नमुना बिग्रन र दूषणको सम्भावना पनि उच्चरहेको हुँदा प्राप्त नतिजाका सात पार अपराधी हो वा दूषणको परिणाम हो ? निर्विवाद पुष्टयाइँ सम्भव हुन नसक्ने अवस्था रहेकाले वाई–एसटिआर नतिजा एकमात्र प्रमाणको रुपमा लिन नसकिने देखियो।’

नाष्टका पूर्वनिर्देशक र वर्तमान निर्देशकसहित फरेन्सिक विज्ञसहितको समितिले परीक्षणपछि बाँकी रहेको नमुनामा पुनः वा थप परीक्षण गर्न सकिने अवस्थामा नरहेको समेत जनाएको छ। मन्त्रालयले राष्ट्रिय मानअधिकार आयोगको प्रतिवेदनलाई आधार मानेर निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमासम्बन्धी थप निक्र्योल गर्न रिजाल संयोजक रहेको समिति गठन गरेको थियो। ‘प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी वाई–एसटिआर प्रविधिबाट मात्र परीक्षण गरिएको पाइएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकलाई आवश्यक छानबिनको दायरामा ल्याउन’, आयोगले दिएको सुझावमा उल्लेख थियो। आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा एवं आयोगका एक अधिकृतसहितको अनुसन्धान टोली गठन गरेको थियो। आयोगले दिएको सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले रिजाल संयोजकत्वमा प्राविधिक अनुसन्धान समिति गठन गरेको थियो।

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्ट अनुसन्धानमा लापरवाही गरेको आरोपमा पदबाट बर्खास्त भएका छन्। अनुसन्धानमा संलग्न डिएसपी अंगुर जिसी तथा प्रहरी जवान चाँदनी साउद अझै निलम्बनमा छन्। प्रहरीले सो प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्ट, दीलिपसिंह बिष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलीपसिंह बिष्टका नाममा किटानी जाहेरी दिएकी छिन्। दुई महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनले किटानी जाहेरी दिएकी हुन। तर प्रहरीले किटानी जाहेरी दिएको विषय गोप्य राखिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…