भारतको नयाँ नक्सा दुतावास अगाडी पुगेर विद्यार्थीहरुले जलाए

प्रकाशित मिति:

काठमाडौं – नेपालको केही भुभाग समेत पर्ने गरी भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर अहिले नेपालमा विरोध भइरहेको छ । नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाइदिएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै नक्सा जलाएका हुन् ।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए । यो सँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्वयुले पनि दुतावास अगाडी गएर प्रदर्शन गरेको छ । दुतावास अगाडी विभिन्न पार्टीमा आस्था राख्ने विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । भारतले उक्त नक्सा नसच्चाएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् । कतिपय स्थानहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि दहन गरिएको छ ।