नेपाल भ्रमण गर्ने बेलायती पर्यटक बढे, अभिनेत्री लुम्ले बनिन् सद्भावना दूत

प्रकाशित मिति:

लण्डन – ब्रिटिस गोर्खाको समान हकको पक्षमा बेलायतमै न्यायिक लडाई लडेर नेपालीबीच लोकप्रिय बनेकी चर्चित बेलायती अभिनेत्री तथा लेखक जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् । बेलायत भ्रमणमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् । बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन)मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जनाएको छ । सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दिपकुमार बर्मा र बेलायतकै धनाड्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

बेलायतमा आयोजन भएको पर्यटन मेलामा भाग लिन गत साता लण्डन पुगेका मन्त्री भट्टराई बेलायतका बिभिन्न राजनीतिक नेता, सरकारी अधिकारी र आरोहीहरुसँग पनि भ्रमण वर्षका सन्दर्भमा छलफल र लबिङ गरेका छन् । लण्डनस्थित नेपाली दूतावासमा आयोजत कार्यक्रममा १४ पटक सगरमाथा आरोहण गरिसकेका चर्चित बेलायती पर्वतारोही केन्टन कुलले जीवनमा एकपटक नेपाल भ्रमण गर्नैपर्ने बताए । उनले हिमालले भन्दा पनि आफूलाई नेपाली जनताले प्रभावित पारेको अनुभव सुनाए । बेलायतमा समुदायको महत्व कम हुँदै गएको भन्दै उनले नेपालबाट समुदायमा कसरी मिलेर बस्ने भन्ने सिक्न सकिने बताए । नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पु र्‍याउने लक्ष्य भेटाउन मन्त्री भट्टराई एक साताभर लण्डनमा नेपाल प्रवर्द्धन कार्यक्रममा सहभागी भए । यसै अभियानलाई सहयोग पुग्ने गरी तीनजना सद्भावना दूत तोकिएको राजदूत दुर्गावहादुर सुवेदीले बताए । बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ मा ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको दूतावासका प्रवक्ता शरदराज आरणले बताएका छन् । दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रबद्र्धन र नेपालको राम्रो वातावरणले बेलायती पर्यटकको संख्या नेपालमा बढेको दाबी दूतावासको छ । बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत प्रभावकारी देखिएको गैरआवासीय नेपाली संघ एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बताइन् । सहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्द्धन सामग्री राखेर प्रचार तीब्र पारिएको छ । सोमबार ४ नोभेम्बरदेखि ३ सातासम्म राता बसमा प्रवर्द्धन जारी राखिने पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले लन्डनमा दोस्रो पटक नेपाल भ्रमण वर्ष लक्षित यस्तो प्रभावकारी उपाय अपनाएको हो । यसअघि अण्डरग्राउण्ड रेलमा पनि नेपाल भ्रमण वर्षको प्रचार गरिएको थियो ।