आलमदेबी अब हुलाक टिकटमा

प्रकाशित मिति:

सबलपोस्ट/ स्याङ्जा –  देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनावरण गरेका छन । आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको प्रवक्ता बाँस्कोटाले बताए । एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो ।

वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती छ । भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवीभन्दा भन्दै अपभ्रंश भई आलमदेवी बन्न पुगेको कथन छ । अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाइन सकिने वरदान माग्दा पुग्ने विश्वास छ ।