किन मिच्दै छ भारतले नेपाली भुमि ? नेपालका ७१ स्थानमा भारतीय अतिक्रमण

प्रकाशित मिति:

काठाडौं – भारतले कालापानी र सुस्तामात्रै होइन २३ जिल्लाका ७१ स्थानमा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतसँग सीमा जोडिएका नेपालका २६ जिल्ला छन् । तीन जिल्लामा मात्रै उसको अतिक्रमण छैन । दार्चुलादेखि ताप्लेजुङसम्म कूल ६० हजार ६२७ हेक्टर जमिने मिचेको छ। सबैभन्दा बढी जमिन कालापानी, लिपुलेक क्षेत्रमै मिचिएको छ, जुन भक्तपुर जिल्लाले ओगटेभन्दा तीन गुणा बढी भूभाग हो। कालापानीपछि सीमा बढी मिचिएको क्षेत्र सुस्ता हो। भारतले त्यहाँको १४ हजार हेक्टरभन्दा बढी हेक्टर जमिन मिचेको पाइएको छ। सरकारी निकाय र सीमाविदहरुबाटठ प्राप्त तथ्यांकअनुसार सबैभन्दा बढी अतिक्रमण दार्चुला, परासी, पाँचथर, ताप्लेजुङ र कञ्चनपुर जिल्लामा भएको देखिन्छ। नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नै भारतबाट नेपालको २ प्रतिशत भूमि अतिक्रमण भएको बताएका थिए ।

यति धेरै भूमि अतिक्रमण हुँदासमेत सहसचिवस्तरीय अध्ययन टोली र जाँचबुझका लागि प्राविधिक टोली बनाउने बाहेक अहिलेसम्मका सरकारहरुले खासै केही गर्न सकेका छैनन्। केपी ओली ०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले कालापानी, लिपुलेक र सुस्ताका विषयमा अध्ययन गर्न समिति बनाएको थियो। उक्त समितिले बुझाएको अध्ययन प्रतिवेदन पनि सिंहदरबारको दराजमै थन्किएको छ। यसपछि पनि कर्मचारीस्तरमा विभिन्न समिति बने । तर, समितिले अध्ययन मात्रै गरेका छन् । शीर्ष नेतृत्व तहमा सीमाका विषयमा छलफल हुन नसकेकै कारण समस्या बढ्दै गएको सीमाविद्हरुको टिप्पणी छ ।

कहाँ कति अतिक्रमण ?
दार्चुला– ३७ हजार हेक्टर
कञ्चनपुर– १ हजार ६११ हेक्टर
कैलाली–२५६ हेक्टर
बाँके– ५१ हेक्टर
बर्दिया– ३१ हेक्टर
दाङ– २० हेक्टर
कपिलबस्तु– १ हेक्टर
रुपन्देही– ५५ हेक्टर
परासी– १४ हजार ६६० हेक्टर
चितवन– ४ हेक्टर
पर्सा– २२७ हेक्टर
बारा– ३६ हेक्टर
रौतहट– १५ हेक्टर
सर्लाही– १२ हेक्टर
महोत्तरी– १४ हेक्टर
सिरहा– ११ हेक्टर
सप्तरी– १४७ हेक्टर
सुनसरी– ४३ हेक्टर
मोरङ– ३५ हेक्टर
इलाम– ४२ हेक्टर
पाँचथर– ४ हजार ११४ हेक्टर
झापा– १७४ हेक्टर
ताप्लेजुङ– २ हजार २० हेक्टर