‘प्रकाण्ड’लाई अर्को सकस , थपियो म्यादी प्रहरीको हत्याको मुद्धा

प्रकाशित मिति:

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माथि व्याक्ति हत्याको आरोप लागेको छ । पटक पटक बिभिन्न आरोपमा पक्राउ पर्दै आएका उनलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको हो।

गत बर्ष मंसिर १२ मा नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ का २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्मा विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

‘प्रहरीले विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरीका अनुसार उनका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको छ । घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।

प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो। विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ। विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।

विश्वकर्मालाई सर्बोच्चले पटक पटक छाड्न दिएको आदेश बिपरित प्रहरीले बिभिन्न मुद्धामा पक्राउ गर्दै आएको छ ।

शुरुमा काठमाडौंमा पक्राउ परेका उनलाई काभ्रेपलाञ्चोक, नुवाकोट हुँदै भोजपुर पुर्‍याएको थियो। भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ पुराउँदै छ।