पत्रकार लम्साललाई दिएको ज्यान मार्ने धम्की प्रति प्रेस युनियनको ध्यानाकर्षण

प्रकाशित मिति:

काठमाडौं – पत्रकार शिव लम्साललाई समाचारको विषयमा आएको धम्कीप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार लम्साललाई ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले समाचार प्रशारण गरेको विषयमा ज्यान मार्ने सम्मको धम्की दिएपछि प्रेस युनियनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । योहो टेलिभिजनमार्फत कात्तिक १६ गते प्रसारण भएको क्राइम विशेष कार्यक्रममा प्रसारित सामाग्रिलाई लिएर ब्लुक्रस हस्पिटलका श्रेष्ठले लम्साललाई धम्की दिएका हुन् ।

ब्लुक्रस हस्पिटलमा उपचाररत एकजना विरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विरामीका आफन्त तथा हस्पिटलको उपचार प्रकृयालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिएको थियो । लम्साललाई आएको धम्कीलाई लिएर युनियनले निकालेको विज्ञप्तीमा भनिएको छ ‘समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका नीज श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ ।’ विज्ञप्तीमा धम्की दिने अस्पताललाई कारबाहीको माग समेत गरिएको छ । यदी धम्की दिनेलाई कारबाही नगरे युनियनले आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।