यसरी भयो नेकपा असफल : बाग्लुङमा नेकपाले बागीलाई हेलिकप्टर चढायो, तैपनि भएन उम्मेदवारी फिर्ता

प्रकाशित मिति:

बाग्लुङ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ। बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको हो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय थियो। समय सकिइसकेपछि घर्ती सदरमुकाम आइपुगे। नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो। त्यसैले नेकपाबाट आधिकारिक उम्मेदवार थिएनन्। नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको थियो। तर घर्तीले कात्तिक २१ गते (बिहीबार) बागी उम्मेदवारी दर्ता गराएका थिए। मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका थिए। घर्ती १२ वर्षसम्म राष्ट्रिय जनमोर्चामा थिए। उनी बोबाङ गाविसका अध्यक्षसमेत भइसकेका नेता हुन्।

घर्ती तत्कालीन माओवादी प्रवेश गरी २०७४ सालको स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए। घर्तीलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले प्रयोग गर्ने हेलिकप्टरमा राखेर सदरमुकाम ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएको थियो। नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकप्टरबाट ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएकोले काम नलागेको जानकारी दिए।‘उहाँलाई हेलिकप्टरबाट ल्याइएको हो। तर उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म मात्रै थियो काम लागेन’ उनले सेतोपाटीसँग भने, ‘अब चुनाव नै हुने भयो।’ कात्तिक २१ गते पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाग्लुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय भएको र पार्टीबाट कोही बागी उठेको भए फिर्ता हुने बताएका थिए। ‘पार्टीबाट कोही उठेको भए भोलि पर्सि फिर्ता भइहाल्छ।

होइन भने मुकाबिला हुन्छ,’ उनले भनेका थिए। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सेतोपाटीसँग कुराकानी गर्दै उम्मेदवारी फिर्ता कसैले नलिएको जानकारी दिए। ‘कसैले पनि उम्मेदवारी फिर्ता लिएन। समय सकियो’ उनले भने। बुर्तीवाङबाट बाग्लुङ सदरमुकाम आउन सडकबाट तीन घन्टा लाग्छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङ बजारमा छ। उम्मेद्वारी फिर्ता लिने समय घर्केला भनेर घर्तीलाई हेलिकप्टरमा ल्याइएको थियो। उनले सुरूमा हेलिकप्टर चढ्नै आनाकानी गरे। पछि उनी हेलिकप्टर चढेर बाग्लुङ बजार त आए तर त्यतिञ्जेल उम्मेद्वारी फिर्ता लिने समय सकिइसकेको थियो। यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको पोहोर मंसिरमा मृत्यु भएको थियो।