चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति

नेपाललाई अव बस्तु आयात  निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता

प्रकाशित मिति:

काठमाडौ– भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात  निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ। नेपाल र चीनबीच सन २०१६ मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविसंकर सैंजु र चिनियाँ पक्षको नेतृत्व त्यहाँकाे यातायात सेवा विभाग यातायात मन्त्रालयका महानिर्देशक वांङ सि पीङले गरेका थिए।

बुधबारदेखि काठमाडौमा भएको ३ दिने दुई पक्षीय बैठकले तेस्रो मुलुकबाट नेपालले बस्तु आयात निर्यात गर्दा चीनका तियान्जिन  सान्जेन  लियान्ग्याङ झान्जियाङलगायतका समुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनेछ। यसका अतिरिक्त ती बन्दगाहमार्फत नेपालसम्म ढुवानीका लागि उपयुक्त स्थलमार्ग र भन्सार नाका प्रयोगमा पनि नेपालले सहज उपयोग गर्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको छ।

यसले अब नेपालको व्यापारमा उत्तर पुर्वी एसियाली राष्ट्रसँगको सहज पहुँच स्थापना हुनेछ। यसले भारतको कलकत्ता बन्दरगाहमाथिको निर्भरता पनि कम गर्नेछ।

प्रोटोकल बैठकमा भन्सारसँग सम्बन्धित प्रक्रिया यातायातका माध्यम, ढुवानी मार्गलगायचत विभिन्न विषयमा छलफल भएको  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

बैठकमा नेपालको नेतृत्व गरिरहेका सैंजुले सहमतिका कारण चीनले नेतृत्व गरेको बेल्ट एन्ड रोड इनिसिएटिभको लाभ लिन नेपाललाई सहज हुने बताए। सहमति कायान्वयनका लागि २ महिना भित्रै एक चिनिया प्रतिनिधिमण्डल नेपाल आउनेछ उनले भने अवस्था सबै सकारात्मक रहेकाले २ महिनापछि नेपालले बन्दरगाह प्रयोग गर्न सक्नेछ।