शिक्षामन्त्री भन्छन – ‘मेडिकल कलेजले १५ दिनभित्र अवैध शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउँछौं’

अर्को अल्टिमेटम

प्रकाशित मिति:

काठमाडौं – विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले फेरि १५ दिनको अल्टिमेटम दिएको छ । पटक–पटक दिएको अल्टिमेटम उल्लंघन गर्दै आएका कलेजहरुलाई मन्त्रालयले फेरि १५ दिनको समय दिएको हो । अब पनि रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए।

‘१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भने। शिक्षामन्त्री पोखरेलका अनुसार सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार गरेर जानकारी गराइन्छ। चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको अवैध शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने बताए पनि कार्यान्वयनमा भने ल्याएको छैन। गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतबाट पनि सञ्चालकले अवैध शुल्क लिएपछि विद्यार्थीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।