बन जंगलको संरक्षणको लागि संयुक्त गस्ती

प्रकाशित मिति:

सबलपोस्ट/सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिकाले बन जंगलको संरक्षणको लागि संयुक्त गस्ती सुरु गरेको छ । आईतबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि चुरे तथा सामुदायिक बनमा गस्ती परिचालनको सुरुवात गरिएको हो । अब बिना अनुमती बनजंगलमा प्रवेश गर्न समेत नगरपालिकाले रोक लगाएको छ । अनुमति बिना बन प्रवेश गरेको भेटिएमा गस्ती टोलीले नियन्त्रणमा लिएर कानून बमोजिम कार्यबाही गर्न भएको हो । बन जंगलमा अबैध चोरी बढेपछि नगरपालिकाले प्रहरी र सामुदायिक बन, जिल्ला बन कार्यालयसँगको समन्वयनमा संयुक्त रुपमा गस्ती सुरु गरेको हो ।

प्रदेश ५ का उद्योग पर्यटन , बन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैना नगरपालिकाले बन जंगलको संरक्षणको लागि ल्याएको योजना नमुना भएको बताउँनु भएको छ । बन जंगललाई संरक्षण गर्दै बनबाट फाईदा लिन सकिने उँहाले बताउँनुभयो । बनको मनोरमता , हरियालीबाट पर्यटन ब्यवसाय फस्टाउन सक्ने मन्त्री गिरीले बताउँदै आर्थिक उपार्जनका क्रियाकलाप बनबाट सञ्चालन गर्न सकिने बताउँनुभयो । बनमा चिउरी रोपेर चिउरीको घिउको उत्पादन लिन सकिने सम्भावा रहेको बताउँनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बनमा चोरी नियन्त्रण गर्न र बनको संरक्षणको लागि बन प्रवेशमा रोक लगाईएको बताउँनुभयो । बनमा बिना अनुमती प्रवेश गर्न नपाईने उँहाले बताउँदै संयुक्त गस्तीबाट अबैध काठ तस्करी रोकिने उँहाले दाबी गर्नुभयो । जंगलमा काडे तार लगाउँन नगरपालिकाले सुरु गरेको उँहाले बताउँनुभयो । जिल्ला बन कार्यालय , प्रहरी र सामुदायिक बन र नगरपालिका मिलेर संयुक्त रुपमा बन क्षेत्रको अनुगमन गरिने कार्कीले बताउँनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य भूमिश्वर ढकाल, नगर उपप्रमुख बिना राना ,डिभिजन बन अधिकृत ईन्द्र बहादुर पछाई, नेकपाका नगर संयोजक नारायण न्यौपाने , नेपाली कांग्रेसका नगरसभापति रामप्रसाद अधिकारी लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।