अख्तियारमा स्याङजाबाट ६० उजुरी

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल \ स्याङ्जा—२२ भदौ  स्याङ्जाका अधिकांश सरकारी कार्यालयका काम कारवाहि र आर्थिक हिनामिनाकाको उजुरी अख्तियारमा परेका छन् । आर्थिक बर्ष २०७४÷०७५ मा ६० ओटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा दर्ता भएका हुन् । पोखरा स्थित आयोगले दिएको जानकारी अनुसार सबै भन्दा बढी उजुरी शिक्षा क्षेत्रमा परेको छ भने अर्को संघियको परेका छन् ।
आर्थिक बर्ष २०७४÷०७५ मा शिक्षा विज्ञान तथा प्रविधि कार्यालय अन्तर्गतको १९, संघिय मामिला तथा सामान्य प्रशासन कार्यालय १७, गृह ८, भुमिसुधार सहकारी तथा गरिवी निवारण ४, वन तथा वातावरण ४, उर्जा जलस्रोत तथा सिंचाई २, संघसंस्था २, स्वास्थ्य तथा जनसंख्या १, महिला वालवालिका तथा जेष्ठ नागरिक १, भौतिक पुर्वाधार तथा यातायात १ गरी ६० ओटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
अख्तियार आयोग पोखरामा परेका ६० उजुरी मध्ये ४१ उजुरीमाथी छानविन प्रक्रिया सकिएर केन्द्रिय अख्तियार आयोगमा सिफारीस भएको र बाँकी १९ उजुरी माथी छानविनको प्रक्रिया अगाडी बढीरहेको आयोगका सुचना अधिकारी रमेश ढकालले बताए । उजुरीकर्ताले एउटै कार्यालय वा संघसंस्थाको उजुरी दर्ता गर्दा धेरै शिर्षक समेटिएको देखिन्छ सुचना अधिकारी ढकालले भने,“जनशक्तिको अभाव र शिर्षक अनुसारका अनुसन्धान गर्ने कर्मचारी नहुँदा उजुरी माथी छानविन गर्न ढिलाई हुनेगरेको छ ।” सबै भन्दा बढी लेखा हिनामिना र प्राविधिक सम्वन्धी उजुरी दर्ता भएका छन् ढकालले भने ।
उजुरी दर्ता हुनेवित्तिकै भष्ट्रचार भएको छ भन्ने सोचाई राख्नु पनि गलत हुनसक्छ ढकालले भने,“चेतनशिल व्याक्तिहरुबाट पारर्दशिताका लागि पनि उजुरी आउने गर्छन् ।” अख्तियारले छानविनमा ढिला गरेको खवर आएपनि दर्ता भएका उजुरीलाई छानविनमा कुनै ढिलाई नभएको ढकालले दावी गरे । आर्थिक बर्ष २०७५÷०७६ को साउन महिनामा मात्रै स्याङ्जाबाट फेरी २८ उजुरी परेको आयोगले जनाएको छ । आयोगका अनुसार गण्डकी प्रदेशमा सबै भन्दा बढी उजुरी पर्नेमा कास्की, पर्वत, तनहुँ र स्याङ्जा क्रमस परेका छन् भने अन्य जिल्लामा सामान्य उजुरी परेका छन् । गण्डकी प्रदेशका जिल्लाहरुको तुलनामा स्याङ्जा चौथो नम्वरमा उजुरी दर्ता गर्नेमा परेको आयोगको भनाई छ । स्याङ्जाबाट जति उजुरी परेपनि अहिले सम्म कुनै पनि कार्यालय कारवाहिमा परेको खवर भने बाहिर आएको छैन । कारवाहिको खवर बाहिर नआउदा अख्तियारको विश्वसनीयता घट्ना थालेको स्थानीयहरु बताउछन् । उजुरीको आधारमा कुनै कार्यालयले घोटला गरेको वा नगरेको खवर बाहिर ल्याउन सकेमा अख्तियार प्रतिको विश्वास बढ्ने स्थानीयहरु बताउछन् ।