नेपाल र कुवेत भुटानमा भिड्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाल र कुवेतबीचको दोस्रो चरणको पहिलो छनोट खेल भुटानमा हुने तय भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार मंसिर ३ गतेका लागि निर्धारित नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा हुने तय भएको हो ।
एन्फाका प्रवक्ता किरण राईले सोमबार प्रेस विज्ञप्ती जारी गर्नुहुँदै नेपालले घरेलु मैदानमा खेलाउने भनेर तय गरिएको खेल भुटानमा तय भएको जानकारी दिनुभएको छ । नेपालले दशरथ रंगशालामा उक्त खेल हुने जनाएको थियो ।

तर एशियाली फुटबल कन्फेडेरेशनको नीरिक्षण प्रतिनिधिले दशरथ रंगशाला खेलका लागि पूर्ण तयार हुन नसकेको जनाएपछि नेपालले उक्त खेल भुटानमा खेलाउन एएफसी समक्ष प्रस्ताव गरेको थियो । तर कुवेतले नेपालको प्रस्ताव अस्वीकार गर्दा अन्यौलता बढेपछि एएफसीले भुटानमा खेलाउन तय गरेको हो । फिफा विश्वकप कतार, २०२२ को दोस्रो चरणको छनोट खेल र एएफसी एशियन कप चीन, २०२३ को छनोट खेल, नेपालसहित समूह बी अन्तगर्तको नेपालले घरेलु मैदानमा हुने तय गरिएको थियो । तर नीरिक्षणपछि एएफसी प्रतिनिधिले दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम तयार हुन नसकेको जनाएको थियो ।