कास्की क्षेत्र नं २ मा चुनावी प्रचारमा तीव्रता, कस्ले मार्ला बाजी ?

प्रकाशित मिति:

रासस / कास्की – कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ  उम्मेदवारहरु घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।

प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रुपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् । निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् । स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् ।

कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई र राप्रपा संयुक्तबाट गङ्गा मल्ल हुनुहुन्छ भने स्वतन्त्र रुपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा हुनुहुन्छ । उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका काङ्ग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल हुनुहुन्छ । उहाँ स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी हुनुभएको छ । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत–४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।