शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राखियोस् – क्यानेडियन डेपुटी एम्बास्डर

प्रकाशित मिति:

काठमाडौं – सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नुपर्ने क्यानेडियन डेपुटी एम्बास्डर डियरड्रि क्यान्टले आग्रह गरेका छन् । सोमबार रत्नपार्कमा रहेको सार्वजनिक शौचालयको अवलोकन गर्दै उनले शौचालय सबैका लागि चाहिने त्यसमा पनि स्वास्थ्य संवेदनशीलता र सुरक्षाका कोणबाट महिलालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले अवलोकन गरेको शौचालय काठमाडौं महानगरपालिका, खानेपानी र सरसफाइका लागि गुथि, एरोसान र ग्राण्ड च्यालेन्जेज क्यानडाको सहकार्यमा निर्माण भएको हो ।

२०७४ मंसिर ४ गते बिश्व शौचालय दिवस २०१७ को अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शौचालयबाट उत्पादन भएको दिशाजन्य फोहोरबाट ग्याँस उत्पादन विधि पूर्वाधारका लागि शिलान्यास गरेका थिए । त्यसको करीब ३ महिनापछि ग्याँस उत्पादन शुरु भएको थियो । हालसम्ममा शौचालयमा जम्मा भएको मानव मलमुत्रबाट मासिक दुई सिलिण्डर ग्याँस उत्पादन भइरहेको महानगरले जानकारी दिएको छ । शौचालयको अवलोकनपछि डेपुटी एम्बास्डरसहितको टोलीले शंखधर पार्कतर्फको शौचालय र ग्याँस उत्पादन भएको शौचालयको पछाडिपट्टि फोहोर संकलन हुने ठाउँको पनि अवलोकन गरेको थियो । शंखधर पार्क भित्र रहेको शौचालयमा दैनिक करीब २ हजार व्यक्तिले सेवा लिइरहेको बताइएको छ ।