पहिलोपटक मरिन सेनालाई छाता बोक्न दिइने

प्रकाशित मिति:

एजेन्सी /२०० वर्षको इतिहासमा पहिलोपटक अमेरिकी मरिन सेनालाई छाता बोक्न अनुमति दिइने भएको छ । यसरी पछिल्लो समय तिनको युनिफर्ममा पनि थुप्रै परिवर्तन ल्याइएको छ । यसअघि महिला सेनाहरुले छाता बोक्न पाएपनि पुरुषका लागि चाहिँ निषेध गरिएको थियो तर सो कानुन पहिलोपटक परिवर्तन गरिएको छ ।सेनाहरुलाई सलाम गर्नमा कठिनाइ हुने हुनाले पनि छाता समात्न दिइँदैनथ्यो । यस्तोमा महिलाहरुले अनुमति पाएपनि छाता पूर्ण रुपमा कालो रङको हुनुपर्ने र देब्रे हातले मात्र समात्न पाउने नियम रहेको छ ताकि उनीहरुले अर्को हातले राम्ररी सलाम गर्न सकून् ।

याँ कानुनमा पनि यही शैली जारी राख्नुपर्ने भनिएको छ । र पुरुष सेनाहरुले पनि सानो कालो छाता देब्रे हातले समात्ने र दाहिने हातले राम्ररी सलाम गर्ने शैली नै अपनाउनुपर्ने बताइएको छ ।मरिनहरुले छाता समातेको दृश्य वास्तवमै एकदम दुर्लभ मानिन्छ । सन् २०१३ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा र टर्कीका प्रधानमन्त्री एड्रोगेनले भाषण गर्ने क्रममा पानी परेपछि मरिनहरुले छाता ओढाइदिनु परेको थियो । यसबारेमा मरिन कप्र्सका प्रवक्ता क्याप्टेन ग्रेग वुल्फ भन्छन्, “त्यो अत्यन्तै दुर्लभ घटना थियो र राष्ट्रपतिलाई वास्तवमै छाता आवश्यक भएकाले मात्र ओढाइएको हो । ’ यसरी छाताका साथै मरिन कप्र्सका अन्य कानुन पनि परिवर्तन गरिएका छन् । जस्तै महिला सेनाहरुले अब कानमा चाँदी रङ्को सानो इयरिङ लगाउन पाउँछन् ।